
लायन्स आँखा सेवाकेन्द्रमा ३३ जनाको मोतिबिन्दुको शल्यक्रिया
गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । केन्द्रले यही बिहिबार, शुक्रबार र शनिबार संचालन गरेको शल्यक्रिया शिविरमा जिल्लाभरका ३३ जनाको सफल शल्यक्रिया भएको हो ।
शिविरमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट, सिरानचोक, भिमसेनथापा, शहिदलखन र आरुघाट गाउँपालिकाका मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरेको केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए । शिविरमा गोरखा नगरपालिकाका १५ जना र अन्य पालिकाहरुबाट १८ जना गरी जम्मा ३३ (महिला १९, पुरुष १४) जनाको सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए ।
केन्द्रले समय समयमा समुदायमा मोतियाबिन्दुका बिरामीहरुका लागि स्क्रिनिङ शिविर संचालन गर्ने गरेको छ । ‘हामीले विद्यालय र समुदायमा आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिदै आइरहेका छौँ’, केन्द्रका प्रशासकीय अधिकृत अर्यालले भने । हाल सेतो पुतलीको कारण हुने शापु रोगको संक्रमणबाट सतर्कता अपनाउन जरुरी छ । कोही कसैलाई संक्रमण देखिएमा तुरुन्त आँखा सेवा केन्द्रमा गई आँखा उपचार गराउनुहुन अनुरोध छ ।’




