
पुस ४ गतेदेखि १२ औँ गोरखा महोत्सव हुँदै
गोरखा उद्योग वाणिज्य संघले १२ औँ गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०८२ गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै संघले आउँदो पुस ४ गतेदेखि १४ गतेसम्म मेला गर्न लागेको जनाएको हो ।
गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलमैदानमा मेला हुने आयोजकले जनाएको छ । जिल्लालाई देशभित्र र बाहिर पर्यटकीय, धार्मिक र ऐतिहासिक जिल्लाका रुपमा चिनाउदै पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको संघका अध्यक्ष भगवानबाबु मास्केले बताए । गोरखा भ्रमण बर्ष २०२५ लाई प्रवद्र्धन गर्ने उदेश्य समेत रहेको उनले जानकारी दिए ।
स्थानीय कृषि, घरेलु पशुपालनबाट उत्पादित बस्तु तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्य समेत रहेको बताइएको छ । मेलामा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारी आयोजको छ । राष्ट्रिय एवं स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति पनि मेलामा रहने संघले जनाएको छ ।
मेलका माध्यमबाट अत्याधिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्लामा भित्र्याउने लक्ष्य उद्योग वाणिज्य संघले लिएको छ । यस्तै, परम्परागत खानपान र खेलकुद मनोरञ्जनलाई प्रोत्साहन गर्ने, औद्योगिक सम्भावनाको पहिचान र पूर्वाधारको विकास गर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, र राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनलाई प्रदर्शनीमार्फत प्रचारप्रसार साथै बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने संघका महासचिव चन्दनबाबु खत्रीले बताए । ‘मेलाको मुख्य आकर्षणहरु म्यान अफ द गोरखा दौड प्रतियोगिता, हस्तकला प्रदर्शनी, खुल्ला युगल तथा गोरखा नगरपालिकाभित्रका मावि स्तरीय नृत्य प्रतियोगिता, पाँचौ गोरखा तारा (गायन) कार्यक्रम, रत्यौली गीत प्रतियोगिता लगायतका कार्यक्रम पनि हुन्छन्’, उनले भने । मेलामा पालिका स्तरीय साँस्कृतिक कार्यक्रम समेत हुने उनको भनाइ छ ।




