
उत्तरी गोरखामा स्याउ टिप्ने सिजन सुरु
प्रतीक्षा आले
गोरखाको हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङको २६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिए ।
उनका बगैँचामा गाला, गोल्डेन र फुजी तीन जातका स्याउ छन् । ‘गाला स्याउ टिपिसकियो । अब गोल्डेन टिप्ने तयारी भइरहेको छ’, लामाले भने, ‘अबको एक महिनामा फुजी पनि टिप्ने बेला हुन्छ ।’ यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उनको भनाइ छ । ‘दुई ट्रक स्याउ काठमाडौँ ल्याइसकेको छु’, उनले भने, ‘काठमाडौँ ल्याउन सकेजति सबै भाटभटेनी सुपरमार्केटले किन्ने समझदारी भएको छ ।’
चार बर्षअघि लगाइएको उनको बगैँचामा १२ हजार पाँचसय बोटमा स्याउ फलेका छन् । उनले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्राण्डिङ गरेका छन् ।
२७ सय मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा पनि टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग छन् । चुमनुब्री गाउँपालिका २ ल्होमा रहेको सो स्याउ बगैँचा ५ हजार बोट लटरम्म स्याउले भरिभराउ छ ।
जसमध्य गाला जातको स्याउ टिप्ने बेला भइसकेको फर्मका संचालक छिरिङ लामाले बताए । उनको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियस लगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न सुरु हुने उनले जानकारी दिए ।
उनको सो बगैँचामा बिगत तीनबर्षदेखि स्याउ उत्पादन हुन सुरु गरेको हो । उनले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्राण्डिङ गरेका छन् । उनले गतबर्ष ८ हजार किलोग्राम स्याउ उत्पादन गरेका थिए ।
पहिलो बर्ष भने उनको बगैँचामा सातसय किलोग्राम मात्र उत्पादन भएको थियो । उत्पादन वर्षेनी बढ्दै गएको लामाले बताएका छन् । ‘यसबर्ष १० हजार किलोग्राम उत्पादन हुने अनुमान छ’, लामाले भने, ‘२८ सय मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निक्कै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ ।’ ल्होका अन्य स्थानीयहरुले पनि घरायसी प्रयोगका लागि थोरैथोरै स्याउ उत्पादन गर्ने गरेको उनले बताएका छन् ।
गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासंग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चारबर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउ खेतीसम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ ।
‘हाम्रो स्याउ फर्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभै स्याउ खेतीको अध्ययन गर्नेहरुका लागि अध्ययनकेन्द्रका रुपमा पनि विकास गरेका छौँ’, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्छन्, ‘यहाँ आएर अध्ययन गर्ने विद्यार्थीहरुका लागि निशुल्क आवास र खानाको व्यवस्था गर्छौँ ।’ चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउ खेती राम्रो हुने हुनाले अरुले किसानले पनि व्यवसायिक स्याउ खेती गरुन् भन्ने चाहना रहेको उनको भनाइ छ ।




