| सोमवार, कार्तिक २३, २०८३

भदौमै मनाइयो दशैँ

नेपाली प्रचलित पात्रोहरुमा असोज ६ गते घटस्थापना छ । त्यसपछि मात्र दशैं मनाउन सुरु हुन्छ । तर पर्व सुधार भन्दै गोरखामा भदौमै दशैँ मनाइएको छ । पर्व समय सुधार राष्ट्रिय समाज गोरखाको आव्हानमा मंगलबार गोरखाका विभिन्न गाउँठाउँमा टिका तथा जमरा लगाएर दशैँ मनाइएको छ ।

प्रचलित पात्रोहरुमा उल्लेख गरिएको भन्दा एक महिनाअघि अर्थात गत भदौ ८ गते घटस्थापना गरिएको समाजका जिल्ला सचिव किशोर रेग्मीले जानकारी दिनुभयो । शाखाले सिरानचोक गाउँपालिकाको मण्डली देवीथानमा औपचारिक रुपमा जमरा राखेको थियो । समाजकै आव्हानमा सो अभियानमा आवद्ध सबैले घरघरमा पनि जमरा राखेका उहाँले बताउनु भयो ।

भदौ १४ गते विधिवत फूलपाती र १५ गते अष्टमी पूजा समेत गरेको पर्व सुधार समाजका सचिव रेग्मीले बताउनुभयो । ‘८ गते औपचारिक रुपमा जमरा राखेर घटस्थापना ग¥यौँ । १५ गते सिरानचोक मण्डली देवीथानमा बलीसहित मौला पूजा गरेर अष्टमी मनायौँ’, उहाँले भन्नुभयो, ‘आज (मंगलबार) सिरानचोक गाउँपालिकाअन्तरगतका सबै विद्यालयहरु, पालुङटार र गोरखा नगरपालिकाका केही विद्यालयहरुमा टिका, जमरा लगाएर विजय दशमी मनाएका छौँ ।’

पर्व सुधारका लागि दशैँ मनाउन सिरानचोक गाउँपालिकाले आर्थिक सहयोग गरेको पर्व सुधार समाज गोरखाकी अध्यक्ष तुलसा मरहट्टाले जानकारी दिनुभयो । ‘खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ,’ उहाँले भन्नुभयो, ‘दिनदिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैँ एक महिना अघि सरेको हो ।’

उहाँका अनुसार मंगलबार सिरानचोक गाउँपालिकाको वडा नम्वर १, २, ४ र ५ का बिभिन्न टोलमा सामूहिक रुपमा टिका र जमरा लगाएर दशैँ मनाइएको छ । सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिकाको खोप्लाङ, आँपपिपल, गोरखा सदरमुकाम र तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयहरुमा मंगलबार सामूहिक रुपमा टिका तथा जमरा लगाएर दशै मनाइएको उहाँको भनाइ छ ।

समाजले बिगत १८ बर्षदेखि साबिक दशैँभन्दा एकमहिना अघि नै दशैं मनाउने गरेको छ । पर्व सुधार भन्दै उनीहरुले एक महिना अघि नै दशै मनाउने गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्