| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोटमा ४४० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा

प्रतीक्षा आले ।
अजिरकोट गाउँपालिकाका ४४० विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिएको छ । गाउँपालिका, मुटु फाउन्डेशन र मनोज एसोसियसन फ्रान्सको साझेदारीमा पालिकाभित्रका विपन्न समुदायका घरपरिवारहरुको निशुल्क रुपमा स्वास्थ्य बिमा गरिएको हो ।

गाउँपालिका र फाउन्डेशनको ५०–५० प्रतिशत लागत साझेदारीमा बिपन्न परिबारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिएको हो । समझदारी अनुसार मुटु फाउन्डेशन तथा मनोज एशोसियसन फ्रान्सको आर्थिक सहयोगमा पालिकाभित्रका २२० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘मुटु फाउन्डेशनले २२० र पालिकाले २२० गरी जम्मा ४४० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको छ’, उनले भने, ‘यसले उहाँहरुको स्वास्थ्य उपचारमा ठूलो राहत पुग्नेछ ।’ पालिकाको थोरै घरधुरी मात्र स्वास्थ्य बिमामा आवद्ध भएको उनले जानकारी दिए ।

‘पालिकाका अधिकांश बासिन्दाले आर्थिक अभावका कारण बिमा नगर्ने र बिरामी पर्दा थप आर्थिक भार पर्ने अवस्था छ, उहाँहरुलाई बिमाको दायरामा ल्याउँदा उपचारमा एक लाखसम्म छुट हुन्छ । जसले उहाँहरुको आर्थिक भार कम हुन्छ’, गुरुङले भने । मुटु फाउन्डेशनले गाउँपालिकासँग समन्वय गरेर पालिकाको वडा नं १ र २ को ३०–३०, वडा नं ४ र ४ को ६०–६० र वडा नं ३ को ४० घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गराएको उनको भनाई छ ।

गाउँपालिकाले मुटु फाउन्डेसनसँगको साँझेदारीमा गत वर्ष पनि पालिकाभित्रका ५०० दलित परिवारको निशुल्क स्वास्थ्य बिमा गराएको पालिकाको स्वास्थ्य शाखाका ठाकुरप्रसाद भट्टले बताए । उनका अनुसार पालिकामा बिरामी परेमात्र स्वास्थ्य बिमा गर्ने चलन रहेको थियो । मुटु फाउन्डेसनसँग साँझेदारी गरेर सिङ्गो पालिकाकालाई स्वास्थ्य बिमामा आवद्ध गरोउने लक्ष्य रहेको उनले जानकारी दिए । ‘गत वर्ष ५०० र यो वर्ष ४४० घरपरिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याईसकेका छौँ । अब बाँकी रहेकालाई पनि बिमाको दायरामा ल्याउने लक्ष्य छ’, उनले भने ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी समेत प्राप्त गर्न सक्नेछन् । बिमामा आवद्ध सबै सदस्यहरुलाई परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट एक लाख रुपैयाँसम्मको निशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइनेछ । सरकारको स्वास्थ्य बीमा बोर्ड नियमावली, २०७५ मा उल्लेखित आठ प्रकारका बिरामीलाई अतिरिक्त एक लाख रुपैयाँ सुविधा दिने व्यवस्था यही साउन १ गतेदेखि कार्यान्वयन गरेको छ । यसरी उक्त आठ प्रकारका बिरामीले दुई लाख रुपैँयासम्मको निशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्