| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै

सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चित्रेपोखरीमा रहने भएको छ । सिरानचोक गाउँपालिकाको वडा नं. ५ छोप्राक मैदानमा रहेको केन्द्र परिवर्तन गरी २०७७ असार ३१ गते सोही वडाकै चित्रे पोखरी कायम गर्ने गाउँसभाले दुई तिहाई बहुमतले निर्णय गरेको थियो ।

तर सो विषयमा असहमति जनाउँदै मुद्दा परेपछि कार्यान्वयन नगर्न २०७७ असोज २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले २०८२ साल भदौ १५ गते (आइतबार) उक्त रिट खारेज गरिदिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । अब गाउँपालिका केन्द्रको विषयमा कुनै अन्यौलता नरहेको उनले बताए । हाल वडा नं. ५ चित्रेपोखरीमा रहेको विस्तारित सेवा कार्यालयबाट नै सेवा प्रवाह भइरहेको छ ।

आधिकारिक रुपमा केन्द्र कायम हुन केही प्रक्रिया अझै बाँकी रहेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘सर्वोच्च अदालतले गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने भनेर आदेश जारी गरिसकेको छ,’ उनले भने, ‘अब मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित भएपछि हामीले प्रशासनिक कामहरु गर्न पाउँछौं ।’ न्यायाधीशहरू विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्