
वडाको बजेटले सेराङ जाने सिँडी निर्माण
उत्तरी गोरखाको सबैभन्दा प्रसिद्ध सेराङ गुम्बा जानका लागि वडा कार्यालयले सिँडी निर्माण गरेको छ । चुमनुब्री गाउँपालिका ५ को कार्यालयले क्य्राकबाट सेराङ जाने बाटोको असजिलो भीरहरुमा सिँडी निर्माण गरेको वडाअध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।
दुईबर्षअघिदेखिको बजेटले सिँडी निर्माण गरिरहेको उनले बताए । ‘सेराङ जाने बाटो असाध्यै असजिलो भएकाले त्यहाँ सिडी निर्माण नगरी नहुने भयो’, लामाले भने, ‘त्यसैले दुईबर्षअघि १० लाख रुपैयाँ खर्च गरेर सिँडी निर्माण गरेका थियौँ । गत आर्थिक बर्ष २० लाख रुपैयाँ खर्च गरेर सिँढी बनाइयो । अब चालु बर्ष पनि त्यही बाटोमा सिँडी बनाउन १० लाख रुपैयाँ विनियोजन गरेका छौँ ।’
असाध्यै असजिलो भनेर ठम्याइएको विभिन्न ठाउँमा गरी सातसय मिटर सिँडी निर्माण गरिएको हो । ‘प्राविधिक सर्भे गर्दा सबैभन्दा असजिलो ठम्याएका विभिन्न ठाउँमा गरी ७०० मिटर सिँडी लगाइएको छ’, गाउँपालिकाका प्राविधिक सुमन गुरुङ भने, ‘सिँडी बाटो डेढ मिटर फराकिलो रहेको छ ।’
त्यहाँ सिँडी बनाएपछि सेराङ गुम्बामा जाने तिर्थालु, दर्शनार्थी, भक्तजन, पर्यटक र स्थानीयबासीलाई हिँडडुल गर्न सजिलो भएको वडाअध्यक्ष लामाले जानकारी दिए । ‘यो सिँडी बनेपछि सेराङ गुम्बा जाने तिर्थालु, भक्तजन, स्थानीयबासी, गुम्बा पढ्ने करिब दुईसय भिक्षु, गुम्बासंगै सञ्चालन भएको विद्यालयमा पढ्ने करिब दुईसय विद्यार्थी, प्रमुख लामा, अरु लामाहरु र सेराङमा बसोबास गर्ने १५ घरका बासिन्दालाई हिँडडुल गर्न सजिलो भएको छ’, उनले भने, ‘बिही, क्य्राकका बासिन्दालाई सेराङ गुम्बा जान सजिलो भएको छ भने उनीहरुलाई गप जान पनि सजिलो भएको छ ।’
यहाँ कादुरी नामक गैरसरकारी संस्थाले पनि झोलुङ्गे पुल निर्माण गरेको छ । ‘यताबाट पक्की बाटो बनाउन थालेपछि कादुरीले पनि झोलुङ्गे पुल निर्माण गरेको छ । अब केही माथि पनि कादुरीले अर्को झोलुङ्गे बनाइदिन लागेको छ’, वडाअध्यक्ष लामाले भने ।




