| आइतवार, कार्तिक २२, २०८३

जग्गाधनीलाई थाहै नदिई जग्गा लिलामी गर्न खोजेको आरोप

गोरखामा जग्गाधनीलाई थाहै नदिई जग्गा लिलाम गर्ने प्रयास भएको छ । गोरखा नगरपालिका वडा नं ७ काटंकराम कोइरालाको जग्गा बिना जानकारी लिलाम गर्ने प्रयास भएको हो ।

गोरखा नगरपालिका वडा नं ५ मा रहेको आफ्नो जग्गा बिना जानकारी लिलाम हुन लागेको कोइरालाले बताएका छन् । बिहीबार वडा नं ५ का वडाअध्यक्ष विष्णु राना मगरलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनले सो कुरा बताएका हुन् । ध्यानाकर्षण पत्रमा कोइरालाले २०७८ असोज १८ गते रिलायन्स फाइनान्स लिमिटेडबाट १० वर्षे अवधिको कृर्षि कर्जा लिएको उल्लेख छ ।

कोइरालाले गोनपा–५ मा रहेको जग्गा धितो राखेर १२ लाखको कर्जा लिएको बताएका छन् । ‘धितो बापत मासिक रुपमा किस्ता तिर्दै आएको र कहिलेकाँही २–४ महिनाको किस्ता छुटेको बेला एकमुष्ट ठुलो रकम पनि बुझाएको छु’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यि सबै कुराहरु मेरो बैँक स्टेटमेन्टामा स्पष्ट छ । सोही बैँक स्टेटमेन्ट अनुसार २०८२ असार ३ गतेसम्म पैसा जम्मा गरेको छु । तर भदौ ११ गते बैँकको कर्जाको विषयमा बुझ्दा, २०८२ जेठ ७ गते नै मेरो जग्गा १४ लाख २५ हजार रुपैँयामा लिलाम बिक्री गरेको थाहा पाँए ।’

गोनपा ५ का वडाअध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला मालपोत कार्यालायका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा रिलायन्स फाइनान्सका प्रतिनिधि मिलेर बिना जानकारी जग्गा लिलाम गरेको कोइरालाको आरोप छ ।

बिना जानकारी, अनुमति वा पूर्वसूचना बिना नै जग्गा लिलामका लागी वडाअध्यक्षले सिफारिस दिएको भन्दै उनले आपत्ति जनाएका छन् । गैरकानुनी सिफारिस तत्काल फिर्ता लिन, पीडितको मौलिक अधिकार सुरक्षित गर्न तथा भविष्यमा यस्ता अवैध, गैरजिम्मेवार र अधिकार गर्ने गतिविधि दोहोरिन नदिनु पर्ने माग उनको छ ।

प्रतिक्रिया दिनुहोस्