| सोमवार, कार्तिक २३, २०८३

बुझेर मात्र समाचार संप्रेषण गर्न अस्पतालको आग्रह

केही दिनअघि अनुग्रह मण्डलीका विश्वासीहरुलाई पत्राचार गरी सो मण्डलीका विश्वासीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने जानकारी गराएको गोरखा मेमोरियल अस्पतालले राम्ररी बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेको छ ।
गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालित सो अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘अबका दिनमा समाचार सम्प्रेषण गर्दा यथार्थ पूरा कुरा बुझेर मात्र समाचार संप्रेषण गर्न’ आग्रह गरेको हो ।

अस्पताल प्रशासनले जारी गरेको सो विज्ञप्तिमा ३५ बर्ष काटेका गरिब, निमुखा, आर्थिक रुपमा बिपन्न समुदायका बिरामीलाई ५० प्रतिशत छुट दिने आफूहरुको मनाशय रहेको उल्लेख छ । छेपेटारस्थित अनुग्रह चर्चमा बुधबार हुने भनिएको स्वास्थ्य शिविर ‘कुनै धर्मप्रचारका लागि नभै नित्तान्त निशुल्क शिविर भएको’ उल्लेख गरिएको छ । ‘यो छुट सुविधा चर्चमा आउने बिरामीहरुका लागि मात्र नभै सबै बिरामीहरुका लागि भएको’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि सो अस्पतालले अनुग्रह मण्डलीका पास्टर सुनिल धिताललाई सम्बोधन गरेर लेखेको पत्रमा ‘मण्डलीका ३५ बर्ष माथिका प्रत्येक विश्वासीलाई हस्पिटलको विशेष छुट ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने’ उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्