| मङ्लबार, कार्तिक २४, २०८३

इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने अस्पतालको अनुगमन गर्न समिति गठन

इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने सूचना सम्प्रेषण गरेको गोरखा मेमोरियल अस्पताल अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा रहेको सो अस्पतालले पत्राचार गरेझैँ इशाई धर्मावलम्बीलाई मात्र ५० प्रतिशत सहुलियत दिए नदिएको, अस्पताल सञ्चालन मापदण्ड पूरा गरे नगरेको बारे अध्ययन गर्न अनुगमन गर्न समिति गठन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, प्रदेश अस्पताल गोरखा, गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिहरु रहेका छन् ।

अस्पतालको यथासीघ्र अनुगमन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ ।
यसअघि सो अस्पतालले अनुग्रह मण्डलीका पास्टर सुनिल धिताललाई सम्बोधन गरेर लेखेको पत्रमा ‘मण्डलीका ३५ बर्ष माथिका प्रत्येक विश्वासीलाई हस्पिटलको विशेष छुट ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने’ उल्लेख गरिएको थियो ।


बुझेर मात्र समाचार संप्रेषण गर्न अस्पतालको आग्रह
केही दिनअघि अनुग्रह मण्डलीका विश्वासीहरुलाई पत्राचार गरी सो मण्डलीका विश्वासीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने जानकारी गराएको गोरखा मेमोरियल अस्पतालले राम्ररी बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेको छ । गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालित सो अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘अबका दिनमा समाचार सम्प्रेषण गर्दा यथार्थ पूरा कुरा बुझेर मात्र समाचार संप्रेषण गर्न’ आग्रह गरेको हो ।

अस्पताल प्रशासनले जारी गरेको सो विज्ञप्तिमा ३५ बर्ष काटेका गरिब, निमुखा, आर्थिक रुपमा बिपन्न समुदायका बिरामीलाई ५० प्रतिशत छुट दिने आफूहरुको मनाशय रहेको उल्लेख छ । छेपेटारस्थित अनुग्रह चर्चमा बुधबार हुने भनिएको स्वास्थ्य शिविर ‘कुनै धर्मप्रचारका लागि नभै नित्तान्त निशुल्क शिविर भएको’ उल्लेख गरिएको छ । ‘यो छुट सुविधा चर्चमा आउने बिरामीहरुका लागि मात्र नभै सबै बिरामीहरुका लागि भएको’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि सो अस्पतालले अनुग्रह मण्डलीका पास्टर सुनिल धिताललाई सम्बोधन गरेर लेखेको पत्रमा ‘मण्डलीका ३५ बर्ष माथिका प्रत्येक विश्वासीलाई हस्पिटलको विशेष छुट ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने’ उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्