
विद्युत महसुल बापत गोरखामा २६ करोड, ९४ लाख रकम राजश्व संकलन
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले विद्युत महसुल बापत २६ करोड ९४ लाख रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्त सम्ममा उक्त रकम संकलन गरेको हो । गत वर्ष जिल्लाभर २७ करोड तीन लाख ८१ हजार रुपैँयाको विद्युत खपत भएको थियो । जसमध्ये २६ करोड ९४ लाख रुपैँया भने संकलन भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले बताए ।
गुरुङका अनुसार गत वर्ष जिल्लामा तीन करोड २८ लाख ५३ हजार युनिट विद्युत खपत भएको थियो । विद्युत प्राधिकरणले महसुल नतिर्ने सेवाग्राहीहरुको घरघरमा पुगेर लाइन काट्न थालेको उनले जानकारी दिए । ‘गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६७६ सेवाग्राहीहरुको लाइन काटेको छ । जसबापत प्राधिकरणले ८० लाख ९१ हजार रुपैँया महसुल संकलन गरेको छ’, उनले भने । यस्तै, ७१७ वटा नयाँ विद्युत लाइन जोडेको गुरुङले जानकारी दिए । नयाँ लाइन जोडेबापत कार्यालयले ७२ लाख २४ हजार रुपैँया राजश्व संकलन गरेको उनले बताए । लाइन काटिदिदा सेवाग्राहीहरुले बाँकी महसुल, लाइन काट्दा र पुनः जोड्दा लाग्ने खर्च र महसुलको २५ प्रतिशत रकम जरिवाना बुझाउनु पर्ने उनको भनाई छ ।
प्राधिकरणले विगतका वर्षहरुको तुलनामा यो वर्ष धेरै महसुल संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले विद्युत महसुल बापत २५ करोड तीन लाख २५ हजार रुपैँया राजश्व संकलन गरेको थियो । सो वर्ष २५ करोड ४७ लाख ७१ हजार रुपैँया विद्युत खपत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आव ०८०/०८१ मा १३ सय ९८ जना सेवाग्राहीहरुको विजुली लाइन काटेको थियो । जसबापत एक करोड २४ लाख सातहजार रुपैँया महसुल संकलन गरेको छ । यस्तै, १३ सय १९ सेवाग्राहीहरुको विद्युत लाइन जोडेको छ । जसबापत एक करोड ३४ लाख ६४ हजार रुर्पँया महसुल संकलन भएको थियो ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका ६० प्रतिशत सेवाग्राहीहरुले अनलाईन मार्फत विद्युत महसुल तिर्ने गरेका छन् । ‘टाढा टाढाका सेवाग्राहीहरुलाई हामीले अनलाइन मार्फत नै महसुल तिर्नु भन्ने गरेका छौँ’, केन्द्र प्रमुख चिजबहादुर गुरुङले भने, ‘हाम्रो आधी भन्दा धेरै सेवाग्राहीहरुले अनलाइन मार्फत नै महसुल तिर्ने गर्नुहुन्छ ।’




