| सोमवार, कार्तिक २३, २०८३

पहिरोको डरले रातभर जाग्राम बस्दै स्याम्राङका युवाहरु

प्रतीक्षा आले
आरुघाट गाउँपालिका वडा नं ३ स्याम्राङको सिरानटोल पहिरोको चपेटामा परेको छ । यही भदौ २ गते राती परेको अबिरल वर्षाका कारण गाउँमाथिको पहराबाट गाउँमा ठूलो पहिरो आएको छ । पहिरोका कारण गाउँलेहरु त्रसित बनेको स्थानीय भरत खत्रीले बताए । पहिरोका कारण स्याम्राङको २५ घरधुरी जोखिममा रहेको उनले जानकारी दिए ।

‘माथिबाट झरेको पहिरो गाउँभन्दा करिब १५० मिटर माथिसम्म आइपुगेको छ । अचेल पानी बर्सन थालेपछि गाउँलेहरु आनन्दले सुत्न पाएका छैनन्’, खत्रीले भने, ‘केहीगरी पहिरो गाउँ नजिक आयो भने घरहरु सबै लैजान्छ भनेर गाउँलेहरु पालो गरेर सुत्ने, पालो गरेर जाग्राम बस्ने गर्छन् ।’ अहिले हरेक रात गाउँका युवाहरु पाँच–पाँच जनाको टोली बनाएर रातभर पहरा बस्ने गरेको उनको भनाइ छ । ‘एउटा टोलीले आधा रातसम्म डिउटी गर्छ, अनि फेरि अर्को ५ जनाको टोलीले अर्को आधा रातसम्म डिउटी गरेर बसेका छौँ’, उनले भने ।

स्याम्राङमो सिरानटोलको भिरमा पहिरो गएको यो पहिलो पटक हो । स्थानीय जनप्रतिनिधि, पालिका र प्रहरीले आफूहरुलाई सुरक्षित ठाउँमा बस्न भनेको तर कहाँ र कसरी बस्ने भन्ने व्यवस्था नमिलाएको स्थानीय भरत खत्रीको गुनासो छ । ‘गाउँपालिकाको टोली, प्रहरी टोली अनुगमन गर्न आएका थिए । पहिरोको जोखिम रहेछ सुरक्षित ठाउँमा बस्नू भनेर गए’, उनले भने, ‘तर कहाँ बस्ने हो, कसरी बस्ने हो उनीहरुले केही भनेनन् । हामी गाउँलेहरुसँग एउटा त्रिपाल पनि छैन ।’ पालिका र प्रशासन यस विषयमा गम्भीर बन्नुपर्ने उनको भनाई छ ।

वडाअध्यक्ष देकबहादुर अधिकारीले पनि स्याम्राङ पहिरोका कारण स्थानीयहरु समस्यामा परेको बताएका छन् । उनका अनुसार अबिरल वर्षा भएर पहिरोले ठूलो रुप लिएमा सिरानटोलको बस्ती नै बगाउने जोखिमपूर्ण अवस्था छ । पहिरो गएलगत्तै प्रहरी मुचुल्का समेत बनाएर पहिरो रोकथामका लागि आवश्यक पहल भैरहेको उनले जानकारी दिए । ‘अहिले गएको पहिरोलाई तत्कालै रोक्न सक्ने अवस्था त छैन तर पहिरो बढ्न नदिन जाली भर्ने तयारी छ’, वडाअध्यक्ष अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्