
घरपालुवा पशुमा ४ लाख भन्दा बढी मात्रा खोप लगाइयो
गोरखामा विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत गतवर्ष ४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । पशुमा लाग्ने महामारीजन्य रोगले गर्दा किसान र पशुमा हुने क्षतिलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८१।०८२ असोजदेखि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइरालाले बताए ।
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि उत्तरी गोरखा चुमनुब्रीबाट सुरु गरेर ११ वटै पालिकाका ९४ वडाका ७१ हजार ७३२ घरधुरीका पशुमा खोप लगाएको कार्यालयले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गोरखाका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा गाई/गोरु, याक/चौरी, भैँसी, बाख्रा, सुँगुर बङ्गुर, कुकुर/बिरालो र भेडामा गरी ४ लाख ६६ हजार ६ सय २७ मात्रा खोप दिइएको हो ।
पूर्ण खोप कार्यक्रममा गाई/गोरु, याक/चौरी, भैँसी र सुँगुर/बङ्गुरमा खोरेतविरुद्धको ८९ हजार ६२९ मात्रा खोप दिइएको थियो । जसमा गाई/गोरु ४७ हजार ३२०, याक/चौरी ४ हजार ९४९, भैँसी ३३ हजार ९४८ र सुँगुर बङ्गुरमा ३ हजार ४१२ मात्रा खोप लगाएको थियो । यसैगरी, ६२ हजार ६९ गाई/गोरु, याक/चौरी र भैँसीमा लम्पि स्किनविरुद्धको खोप एलएसडी खोप लगाइएको थियो ।
यसैगरी, २ लाख ७५ हजार २९४ बाख्रा र ३० हजार ८१५ भेडामा पिपिआर खोप दिइएको थियो । कार्यालयका अनुसार १३ हजार २२९ कुकुर बिरालोलाई रेबिज खोप लगाएको छ । ५ हजार ५९१ सुङ्गुर/बङ्गुरलाई स्वाइनफिभरको खोप दिइएको थियो । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो । स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको सेवा केन्द्रका प्रमुख कोईरालाले जानकारी दिए ।




