
रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम सहकारीले पाएनन्
प्रभु मेनेजमेन्ट प्रालिले रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम नदिएको भन्दै जिल्लाका सहकारी संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । बिहीवार प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै उक्त रकम फिर्ताका लागि पहल गरिदिन गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघले माग गरेको छ ।
प्रालिले जिल्लाका सहकारी संस्थासँग गरेको सम्झौता बमोजिम भुक्तानी नदिएको संघका उपाध्यक्ष रामबाबु श्रेष्ठले बताए । ‘कसैले बिदेशबाट प्रभु रेमिट्यान्समार्फत पैसा पठायो भने हाम्रो संस्थाले भुक्तानी दिने र भुक्तानी पश्चात प्रभु मेनेजमेन्ट प्रालिले हामीलाई सो रकम उपलब्ध गराउने भन्ने सम्झौता छ,’ उनले भने, ‘तर करिव एक बर्षदेखि प्रालिले हामीले भुक्तानी गरेको रकम फिर्ता गरेको छैन ।’
धरौटी वापत प्रालिलाई बुझाएको रकम पनि फिर्ता नआएको बताउँदै उनले थपे, ‘सम्झौता गर्दा हामीले धरौटी भनेर केही रकम पहिलै प्रालिलाई बुझाएका छौ, एक पटकमा कम्तिमा २०–३० लाख गर्दै बुझाएको त्यो पैसा पनि फिर्ता दिएन ।’ सवैभन्दा बढी आरुघाट गाउँपालिका–८ को सितला बचत तथा ऋण सहकारी संस्थाले २८ लाख ३५ हजार रकम लिन बाँकी रहेको संघले जनाएको छ ।
भीमसेन थापा गाउँपालिकाको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थाको १७ लाख २० हजार, बारपाक सुलिकोट गाउँपालिकाको सुलिकोट बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाको १३ लाख १३ हजार र गोरखा नगरपालिकाको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्थाको १० लाख १० हजार रकम फिर्ता हुन बाँकी रहेको संघले बताइएको छ ।
संघका अनुसार सिरानचोक गाउँपालिकाको संसारी सहकारीले ५ लाख ८ हजार, भीमसेन थापा गाउँपालिकाको भिमकुल बचत तथा ऋण सहकारीले ३ लाख ९२ हजार, गोनपाको गोरखा बचत तथा ऋण सहकारीले ३ लाख १४ हजार, गोरखा उद्यमशिल बचत तथा ऋण सहकारीले ३ लाख ११ हजार, सिरानचोक गाउँपालिकाको चम्पावती बचत तथा ऋण सहकारीले ३ लाख ८ हजार र गोनपाको गोरखकाली बचत तथा ऋण सहकारीले ३ लाख रकम प्रालिसँग लिन बाँकी छ ।
‘आरुघाटको सप्तकोशी बचत तथा ऋण सहकारीको २ लाख ४१ हजार, सिरानचोकको थालाजुङ्ग बिकास बहुउदेश्यीय बचत तथा ऋण सहकारीको २ लाख ४० हजार, गोनपाको हिमचुली बचत तथा ऋण सहकारीको २ लाख २२ हजार, महिला जागरण बारपाक सुलिकोट बचत तथा ऋण सहकारीको १ लाख १० हजार र आरुघाटको सनराइज बचत तथा ऋण सहकारीको १ लाख ५ हजार रकम फिर्ता भएको छैन,’ श्रेष्ठले भने । गोनपाको सिद्धिगणेश बचत तथा ऋण सहकारीको भने १ हजार ५७४ रुपैया लिन बाँकी रहेको उनले जानकारी दिए ।




