
गोरखाका सिडिओको व्यवहारप्रति सांसद बजगाईको आपत्ति, आपतकालिन सहयोगमा गैरजिम्मेवार देखिएको आरोप
आपतकालिन सहयोगमा गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया गैरजिम्मेवार देखिएको सांसद राजेन्द्र बजगाईले आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रजिअको व्यवहारप्रति आपत्ती जनाए ।
उत्तरी गोरखाको बिही नजिकै पहिरोले क्षति पुगेको पदमार्गको आपतकालिन सहयोगका लागि फोन गर्दा गैरजिम्मेवारपूर्ण जवाफ दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बिही गाउँमा पहिरोले बाटो बगेको तस्विर र त्यसको जानकारी दिदै आपतकालिन सहयोगका लागि त्यहाँका स्थानीयले अनुरोध गरेपछि मैले तुरुन्त गोरखाका सिडिओसँग सम्पर्क गरे तर, सिडिओबाट प्राप्त जवाफ न केवल सहयोगी थियो, बरु गैरजिम्मेवारपूर्ण रह्यो ।’
प्रजिअ कडरियालाई जिल्लाको भौगोलिक अवस्था र विही गाउँको दुर्गमताबारे समेत ज्ञान नभएको भन्दै उनले थपे, ‘सिडिओले प्रत्येक वडा र गाउँपालिकामा जेसिवी उपलब्ध रहेको बताए तर, यो भनाइ गोरखाको भौगोलिक अवस्था र बिही गाउँको दुर्गम अवस्थाको पूर्ण अज्ञानता झल्काउने खालको थियो ।’ बिही गाउँ सडक सञ्जालमा नजोडिएको कुरा सिडिओलाई थाहा नभएको उनले बताए ।
आपतकालिन अवस्थामा देखाउनुपर्ने संवेदनशिलताको अभाव प्रजिअमा देखिएको बजगाईको भनाइ छ । यस प्रकारको व्यवहारले दुर्गमका जिल्लावासीले राज्यबाट आपतकालिन सेवा कसरी पाउने ? भन्दै उनले प्रश्न गरे । दुर्गम र पहँुचविहीन क्षेत्रमा विपद व्यवस्थापन र तत्काल सहयोग पु¥याउने संयन्त्र तत्काल सुधार हुनुपर्ने उनको धारणा छ ।




