
माओवादी गोरखा मध्यपहाडी लोकमार्ग अभियानमा केन्द्रीत हुने
नेकपा(माओवादी केन्द्र) गोरखा मध्यपहाडी लोकमार्ग अभियानमा केन्द्रीत भएर लाग्ने भएको छ । बुधबार सम्पन्न पार्टीको पूर्ण बैठकले माओवादी केन्द्रीय समितिले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियानलाई सफल बनाउन जोड दिने निर्णय गरेको हो ।
जिल्ला पार्टी अध्यक्ष छमबहादुर गुरुङको अध्यक्षता एवं केन्द्रीय सदस्य तथा गण्डकी समन्वय कार्यालय सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले भदौ २४ गते हुने सो अभियान सफल बनाउन जोडदार रुपमा लाग्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले बिगतदेखि सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत कार्यक्रम कास्कीमा आएपछि बर्खाका कारण स्थगित भएको थियो । सो अभियान २३ गतेदेखि लम्जुङबाट पुन सुरु हुदैछ । सो क्रममा जनभेटघाट तथा सभा आयोजना हुनेछ ।
गोरखामा २४ गते पालुङटार र आरुघाटमा जनसम्वाद आयोजना हुने जिल्ला इञ्चार्ज अमर तमुले जानकारी दिए ।
सो अभियानमा पार्टीका केन्द्रीय अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) वरिष्ठ नेता, उपाध्यक्ष, महासचिवलगायतका नेताहरु सहभागी हुने कार्यक्रम रहेको उनले बताए ।




