
गोरखकाली रबर उद्योगसहित सात उद्योग नीजिकरण गर्ने प्रक्रिया सुरु
लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगसहित देशका सात उद्योगलाई निजीकरण गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । जनकपुर चुरोट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो र नेपाल मेटल कम्पनीसँगै हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र गोरखकाली टायर उद्योग लिमिटेडको निजीकरण प्रक्रिया अघि बढाएको हो ।
निर्णयसंगै अर्थ मन्त्रालयले जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता नियुक्त गर्न लागेको छ । अर्थ मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने भएको छ । मन्त्रालयले परामर्शदाता कम्पनीहरूको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिसकेको छ ।
चार उद्योगको डीडीए गर्न ४२ चाटर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेश गरेका थिए । प्रतिस्पर्धाबाट चार कम्पनी छनोट गरिने भएको छ । अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले संक्षिप्त सूची प्रकाशित भइसकेकाले अब बोलपत्र आह्वान हुने जानकारी दिए । उनले भने, ‘परामर्शदाता छनोटपछि संस्थानको डीडीए सुरु हुनेछ ।’ मूल्यांकन सकिएपछि मन्त्रालयले ती उद्योगलाई निजीकरण प्रक्रिया अघि बढाउनेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्ष रहेको सरकारी लगानी व्यवस्थापन समितिको निर्णयका आधारमा चार उद्योग सरकारले मूल्यांकन गर्दैछ । एसियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा अरु तीन उद्योगको सम्पत्ति मूल्यांकन भइरहेको छ । सरकारको नेतृत्व गरेको एमाले निजीकरण शब्दको विरोधी पार्टी हो । उसले निजीकरण शब्द नरुचाएको हुँदा सट्टामा ‘सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन’ भन्ने प्रयोग गरेको हो ।
उक्त शब्दावली अध्यादेशमा पार्दै संसद्बाट अनुमोदन भइसकेको छ । पारित कानुनसँगै प्रतिष्ठानको अवस्था हेरेर सेयर निष्कासन, मर्जर र सम्पत्तिको मौद्रीकरण गर्न सक्ने व्यवस्था गरेको छ । निजीकरण शब्द प्रयोग नगरी सरकारले सात सार्वजनिक संस्थानको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय गरे पनि वास्तविक मनसाय निजीकरण नै भएको प्रष्ट देखिन्छ । प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ स्वीकृत भएपछि सरकारले बन्द भएका संस्थानको सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाएको हो ।
निजीकरण हुन लागेका उद्योगमध्ये उदयपुर र हेटौंडा सिमेन्ट उद्योग मात्र सञ्चालनमा छन् भने गोरखकाली, जनकपुर, ओरियन्ट र बुटवल धागो बन्द छन् । नेपालमा गाडीको टायर उत्पादनका लागि २०४१ सालमा स्थापना गरिएको गोरखकाली रबर उद्योग हाल ५ अर्ब ५७ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।




