
गोरखालाई कायापलट गर्ने ठुलो योजना ल्याउनुस्, प्रदेशले सहयोग गर्छ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सानातिनाभन्दा गोरखालाई कायापलट गर्ने ठुला योजना आवश्यक रहेको बताएका छन् । आइतवार गोरखामा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन पश्चात बोल्दै उनले यस्ता योजना ल्याए सहयोग गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताए ।
‘मैले गत बर्ष पनि नगरपालिकाका मेयर उपमेयरसहित अन्य जनप्रतिनिधीलाई म मुख्यमन्त्री भइरहँदा गोरखामा एउटा ठुलै योजना लागू गरौ, करोडौंको कामको सुरुवात गरौ जसले गोरखालाई कायापलट गर्छ । यस्तो योजना लिएर आउनुस् म मेरै पालामा त्यसलाई अगाडी बढाउछु भनेको थिए,’ उनले भने ।
चौतारा र खानेपानी निर्माण जस्ता सानातिना योजना क्रमश आफै हुदै जाने भन्दै उनले गोरखामा गेम चेन्जर प्रोजेक्ट आवश्यक रहेको बताए । नगरपालिकाले अघि सारेको गोरखनाथ पार्क निर्माणको लागि सहयोग गर्न गण्डकी प्रदेश सरकार तयार रहेको उनले जानकारी दिए । ‘गोरखनाथ पार्कको कुरामा म सहयोग गर्छु भनेको थिए । डिपिआरका लागि लाग्ने खर्च र त्यसलाई बहुबर्षिय योजनामा लागेर अघि बढाउँछु भनेको थिए,’ उनले भने, ‘तपाईहरुले जग्गा र पुरातत्वको समस्या भन्नुभयो मैले त्यसमा पनि सहजिकरण गर्छु भनेकै थिए ।’
गोरखालाई पर्यटनको केन्द्रविन्दु बनाउन सक्ने ठुला योजना लिएर आउन आग्रह गर्दै उनले सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताए । फरक प्रसंगमा बोल्दै उनले अहिलेका युवाहरुमा निराशा र नकरात्मक सोच बढी देखिएकाले सही बाटो देखाउनुपर्ने आवश्यक रहेको धारणा राखे । आफ्नै ठाउँमा बसेर केही गर्न सकिन्छ भन्ने अनुभूती उनीहरुलाइ दिलाउनुपर्ने उनको भनाइ छ ।
‘केहीले नेपालमा बसेर केही हुदैन, केही गर्न सकिदैन भन्ने गलत भाष्य सिर्जना गर्न खोजेका छन् यसलाई अहिलेका युवाहरुले चिर्नुपर्छ,’ उनले भने । सकारात्मक सन्देश फैलाउन जेसीजमा लाग्ने युवाहरुलाई उनले आग्रह समेत गरेका छन् । देशमा बिकासको गति तिव्र गतिमा अघि बढीरहेको उनले जिकिर गरे । गोरखाले बिकास देखेको धेरै समय नभएको भन्दै उनले भने, ‘गोरखामा हामीले बिजुली देखेको कति भयो ? बाटो आएको कति भयो ? क्याम्पस आएको कति बर्ष भयो ? स्वास्थ्य सेवाको अवस्था कस्तो थियो ? हामीले परिवर्तन देखेको धेरै टाढा छैन । स्वास्थ्य, शिक्षा, पूर्वाधार, संचार लगायतका क्षेत्रले फड्को मारेकै छ ।’




