| शनिबार, अशोज ९, २०८३

एसईईको पुरक परीक्षा सुरु, १,३२७ परीक्षार्थी सहभागी हुँदै

बिहिबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा सुरु भएको छ । यो वर्ष जिल्लाबाट एक हजार ३२७ जनाले एसईईको पुरक परीक्षामा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

पुरक परीक्षाको पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा रहेको थियो । यो वर्ष सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा ७६० जनाले पुरक परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई गोरखाको परीक्षा शाखा प्रमुख विश्वप्रकास रेग्मीले बताए । उनका अनुसार अङ्ग्रेजीको पुरक परीक्षा दिनका लागी ७६० जनाले फारम भरेकोमा बिहीबार जम्मा ७३९ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन् । अङ्ग्रेजी विषयपछि सबैभन्दा धेरै गणित विषयमा ६२९ जनाले पुरक परीक्षा दिने उनले जानकारी दिए । यस्तै, ४७५ जनाले विज्ञान विषयको पुरक परीक्षा दिँदै छन् भने सबैभन्दा कम नेपाली विषयमा ४२ जनाले पुरक परीक्षा दिने रेग्मीको भनाई छ ।

‘कुल १३ सय ९१ जना अनुत्तीर्ण भएकोमा जम्मा १३ सय २७ ले मात्र फारम भरेका छन’, उनले भने, ‘पाँच–सात वटै विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुको सङख्या धेरै छ । धेरै विषय लाग्नेहरुले परीक्षा फारम नभरेका कारण अनुत्तीर्ण हुने र पुरक परीक्षा दिने विद्यार्थीहरुको सङख्यामा अन्तर देखिएको हो ।’

परीक्षा संचालनका लागि कार्यालयले जिल्लाभर चार वटा केन्द्रहरु तोकेको छ । गोरखा नगरपालिका वडा नं–९ लक्ष्मीबजार स्थित महालक्ष्मी मावि, गोनपा–८ को सरस्वती मावि आहाले, गोनपा–६ स्थित शक्ति मावि पाटेचौर र महेन्द्र ज्योति मावि दरमार्गमा परीक्षा केन्द्र तोकिएको हो ।

यो वर्ष जिल्लाबाट नियमिततर्फ दुईहजार ६१६ र गे्रडबृद्धितर्फ ९२७ जना विद्यार्थी एसईईमा सहभागिता जनाएका थिए । खुल्ला विद्यालयतर्फ भने ७ जनाले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । उनीहरु सातै जना अनुत्तर्ण भएको कार्यालयको भनाई छ ।

जिल्लाभर १३७ विद्यालयहरु एसईईमा सहभागी भएका थिए । जसमध्य सबैभन्दा धेरै गोरखा नगरपालिकाबाट २६ र सबैभन्दा कम चुमनुब्री गाउँपालिकाबाट दुईवटा विद्यालय परीक्षामा सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि एसईईको परीक्षाफलमा सबै विषयमा ‘नन–ग्रेडेड’भएका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । ठूलो संङ्ख्यामा परीक्षार्थी अनुत्तीर्ण भएपछि बोर्डले उक्त नियम लागु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्