
बिद्यार्थीसँगै बिद्यालयको तह पनि घट्दै, शिक्षक दरवन्दी पनि कटौती
बिद्यार्थी नभएपछि शहिद लखन गाउँपालिकाले बिद्यालयहरुको तह घटाएको छ । यो बर्ष आठ वटा बिद्यालयको तह घटाइएको पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
‘दुई वटा बिद्यालयको निर्णय नै गरेर तह घटायौ,’ शाखा प्रमुख राजेन्द्र खनालले भने, ‘बाँकीमा बालकक्षा मात्र संचालन गर्ने भनेर शिक्षक दरवन्दी कटौती ग¥यौ ।’ बक्राङको थानी आधारभूत बिद्यालय र गणेश प्रावि घैरुङको तह घटाइएको उनले बताए । उनका अनुसार ८ कक्षासम्म संचालनमा रहेको थानी आवि पाँच कक्षामा झरेको छ । ५ कक्षासम्म संचालनमा रहेको गणेश प्रावि तीन कक्षामा झारिएको उनले जानकारी दिए ।
बाँकी ६ वटा बिद्यालयमा भने बालबिकास सहजकर्तावाहेकका अन्य शिक्षक दरवन्दी कटौती गरिएको उनको भनाइ छ । दाहाले प्रावि बुंकोट, जलकन्या प्रावि रानीस्वाँरा, दुर्गा प्रावि अधेरी, जलदेवी प्रावि नाम्जुङ, शहिद सन्देश प्रावि ताक्लुड, इन्द्र प्रावि र लक्ष्मी प्रावि बक्राङका बिद्यालयको शिक्षक दरवन्दी कटौती गरिएको उनले बताए । ‘६ वटा बिद्यालयबाट ६ जना शिक्षकको दरवन्दी कटौती गरेर अन्य माविमा समायोजन ग¥यौ,’ उनले भने, ‘ती बिद्यालयमा अब बालबिकास सहजकर्ताको मात्र दरवन्दी छ, अन्य कक्षामा अव भर्ना हुदैन, पढाइ पनि हुदैन ।’ पाँच जनाभन्दा कम बिद्यार्थी भएका बिद्यालयमा बालबिकास सहजकर्ताको मात्र दरवन्दी राखेर अन्य कटौती गरिएको उनले जानकारी दिए ।
पिपलापोखरी आधारभूत बिद्यालय घैरुङ यो बर्षबाट बन्द भएको छ । बिद्यार्थी नभएपछि बन्द गरिएको शिक्षा शाखा प्रमुख खनालले बताए । ‘गत बर्ष चार जना थिए, तीन कक्षासम्म संचालनमा थियो, यो बर्ष बन्द भयो,’ उनले भने ।
पालिकाले गत बर्ष महेन्द्र शक्ति मावि र मण्डली प्राविको कक्षा घटाएको थियो । १२ कक्षासम्म संचालनमा रहेको महेन्द्र शक्ति माविलाई दश कक्षासम्म झारिएको र ५ कक्षासम्म संचालनमा रहेको मण्डली प्राविलाई ३ कक्षामा झारिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।




