| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा तीन प्रतिशत बच्चा जन्मदै कम तौलका

प्रतीक्षा आले ।
गोरखा जिल्लामा हरेकबर्ष ठूलो संख्यामा मापदण्डभन्दा कम तौलका बच्चा जन्मने गरेको पाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले तयार गरेको तीनबर्षको तथ्यांक अध्ययन गर्दा यहाँ तीन प्रतिशत बच्चा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा कम तौलका जन्मने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य संगठनले बच्चा जन्मदा न्यूनित्तम २५००ग्राम(२.५ किलोग्राम)को र लम्बाइ ५० सेमिको हुनुपर्छ भनेर निर्धारण गरेको छ । तर गोरखामा गत साउनदेखि असारसम्म एकवर्षको अवधिमा तीनप्रतिशत बच्चा जन्मदै कम तौलका रहेको कार्यालयले जनाएको छ । गोरखामा सो बर्ष दुई हजार ७३१ बच्चा जन्मिएका थिए । तीमध्य ८२ जना बच्चा जन्मदै कम तौलका रहेका कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खड्का बताउँछन् । अवधि पुगेर जन्मेका बच्चामा जन्मदै कम तौल हुनुलाई राम्रो मान्न नसकिने उनले बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार हरेक वर्ष यहाँ जन्मदै कम तौल भएका बच्चाको संख्या तीन प्रतिशतकै अनुपातमा रहेको छ । अघिल्लो वर्ष २०८०/८१ मा पनि २.८८ प्रतिशत बच्चा जन्मदै कम तौलका थिए । सो बर्ष जिल्लाभर दुई हजार आठ सय पाँच जना बालबालिकाहरु जन्मिएका थिए । जसमध्य ८१ जना कम तौलका जन्मिएको कार्यालयले जनाएको छ । तीनवर्ष अघिको तथ्यांक अध्ययन गर्दा ३.५३ प्रतिशत बच्चा जन्मदै २.५ किलोग्रामभन्दा कम तौलका रहेका थिए । सो आर्थिक वर्ष तीन हजार ५४ बालबालिका जन्मिएकामा १०८ जना औसतभन्दा कम तौलका थिए । पोषण नपुगेर तथा खान नजानेर आमा र बच्चाको स्वास्थ्य अबस्था बिग्रिने गरेको खड्काको भनाइ छ ।

‘पहिले खाना नपाएर, अहिले खान नजानेर बिग्रिएको हो’, उनी भन्छन्, ‘आमाले अर्गानिकमा भन्दा तयारी(पत्रु) खानामा जोड दिने, पर्याप्त शारीरिक व्यायम नगर्ने, धुमपान गर्ने वा धुमपान गर्नेको संगत गर्ने गरेका कारण कम तौलको बच्चा जन्मन्छन् । जन्मदै कम तौल भएका बच्चाहरूमा कुपोषणलगायत स्वास्थ्य समस्या देखिन्छ ।’ नियमित गर्भ जाँच गर्ने, गर्भवती अवस्थामा आहारबिहारमा ध्यान दिने, स्वास्थ्यमा देखिने कुनैपनि समस्याप्रति गम्भीर दिएमा यस्ता समस्याबाट ग्रसित हुनु नपर्ने उनको सुझाव छ ।

धार्चे, चुमनुब्रीजस्ता गाउँहरुमा तल्लो भेगको तुलनामा चेतना कम भएपनि तयारी(पत्रु) खाना कम खाने र कसरत पर्याप्त हुने हुँदा सहरी क्षेत्रको भन्दा आमा र शिशुको स्वास्थ्य राम्रो हुने गरेको पाइएको छ । आमा र शिशुको स्वास्थ्यसम्बन्धी चेतना कम भएका तथा चेतना भएर पनि लापार्बाही गरेका कारण यो समस्या समाधान नभएको हो ।

प्रतिक्रिया दिनुहोस्