
बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न १० वैंकद्वारा हस्ताक्षर७० अर्बको स्रोत जुट्यो
निजी क्षेत्रको लगानीमा बनाउन लागिएको देशकै सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस उर्जा मुख्य प्रवद्र्धक रहेको सो आयोजनाका लागि १० वटा वैंकले लगानी गर्न हस्ताक्षर गरेका छन् । ७० अर्ब रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाका लागि
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक(एनआईएमबी)को नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु बैंक, कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आंशिक–जलाशय (पिकिङ रन अफ द रिभर, पिआरओआर) जलविद्युत् आयोजनाको कुल लगानीमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट लिइने र २५ प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपूँजीबाट व्यवस्थापन गरिनेछ । २५ प्रतिशत पुँजीको ५१ प्रतिशत लगानी मुख्य प्रवद्र्धक साहस इनर्जीको रहनेछ । बाँकी आयोजना प्रवद्र्धक कम्पनी टाइम्स इनर्जीको रहनेछ ।
लगानी सम्झौता समारोहमा प्रवद्र्धक कम्पनीले २०८२ सालको चैत महिनाबाट निर्माण कार्य सुरु गर्ने जानकारी दिएको छ ।
गोरखा जिल्लाको चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी धार्चे गाउँपालिका ३ तातोपानीमा पावरहाउस निर्माण गर्ने कम्पनीले जनाएको छ । सो आयोजना ३९८ मिटर जलस्रोतको उचाइ (हेड) र १००.२७ क्युसेक पानीको बहावको प्रविधिमा आधारित छ । आयोजना सम्पन्न भएपछि २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य लिइएको छ । अनुमानित उत्पादन क्षमता वार्षिक १ हजार ८६७ गिगावाट घण्टा रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न करिब ४५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ, जुन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माणाधीन ४०० केभी क्षमताको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ ।
सो कम्पनीले तमोर नदीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो । ३४१ मेगावाटको बूढीगण्डकी आयोजना सुरु भएपछि यो नै सबैभन्दा ठूलो आयोजना बन्नेछ ।
सहास ऊर्जाले यसअघि ५ मेगावाट क्षमताको रुरु जलविद्युत परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत परियोजना सफलता पुर्वक सम्पन्न गरी राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।




