
च्याङ्लीमा प्लाईको कच्चा पदार्थ बनाउने उद्योग स्थापना हुँदै
गोरखाको च्याङ्लीमा प्लाईका लागि चाहिने कच्चापदार्थ(कोरटिलिङ) बनाउने उद्योग स्थापनाको तयारी गरिएको छ ।
शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स इण्डस्ट्री प्रालिले पालुङटार नगरपालिका ७ च्याङ्लीको फलामे भन्ने ठाउँमा कोर टिलिङ बनाउने उद्योग स्थापनाको काम सुरु गरेको हो ।
‘हामीले यहाँ २० रोपनी जग्गा खरिद गरिसकेका छौँ । उद्योगका लागि जग खन्ने काम धमाधम सुरु भएको छ’, कम्पनीका प्रवन्ध निर्देशक सुरेश पोखरेलले भने, ‘आउँदो असोज १ गते विश्वकर्मा पूजाको दिनदेखि काम सुरु गर्ने तयारीमा छौँ ।’ २५ देखि २७ करोड रुपैयाँसम्म लगानी गर्ने तयारी रहेको उनले बताए ।
‘हाम्रो टिममा चारजना छौँ । प्लाई उद्योग सञ्चालन गर्न २५ देखि २७ करोड रुपैयाँसम्म लगानी गर्नुपर्छ । तर पाँचदेखि सात करोड लगानी गरेर अहिले कोर टिलिङ उद्योगमात्र सञ्चालन गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘उद्योगमा स्थानीय तथा अस्थानीय दक्ष, अर्धदक्ष, अदक्ष गरी ३०/४० जनाले रोजगारी पाउनेछन् ।’ यस क्षेत्रमा उत्पादन हुने उतिस, चिलाउने, आँप, लहरेपिपलको प्रयोग गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ । साथै प्लाई उत्पादन गर्न पोखरा, चितवन, दमौलीका उद्योगहरुमा सप्लाई गर्ने उनले बताए ।




