
३०० विद्यार्थीको दाँतको उपचार
आनन्द फाउण्डेशनले गोरखाका दुई सामुदायिक विद्यालयका तीनसय विद्यार्थीको दाँतको उपचार गरेको छ । गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आवासीय मावि र बालमन्दिर माविमा सञ्चालित दन्तरोग उपचार शिविरमा तीनसय विद्यार्थीको दाँतको उपचार गरिएको हो ।
स्थानीय साझेदारी संस्था जोय फाउण्डेशन नेपालको समन्वयमा आनन्द फाउण्डेशनले विद्यालयहरुमा दन्त शिविर सञ्चालन गरेको हो । फाउण्डेशनले मनकामनाम बहिरा आवासीय विद्यालयका १४४ जना विद्यार्थी र बालमन्दिर माविका १६० जना विद्यार्थीको दाँतको उपचार गरेको संस्थाका सम्तान लामाले जानकारी दिए ।
शिविरमा ताइवानस्थित ताइपेई मेडिकल युनिभर्सिटीका २० जना दन्तरोगसम्बधी अध्ययन गरिरहेका विद्यार्थी र तीनजना चिकित्सकले चेकजाँच तथा उपचार गराएका थिए ।




