| मङ्लबार, कार्तिक २४, २०८३

एनपिआई गोरखा अस्पताल भदौ १ बाट संचालनमा आउने

गोरखामा निर्माण सम्पन्न भएको एनपिआई गोरखा अस्पताल लामो पर्खाइपछि सञ्चालन हुने भएको छ । बिभिन्न बिशेषज्ञ सेवासहित सो अस्पताल संचालनमा आउन लागेको हो । गोरखा सदरमुकाममा रहेको उक्त अस्पतालले यही भदौ १ गतेबाट सेवा शुभारम्भ गर्न लागेको हो । सोमवार पत्रकार सम्मेलन गर्दै संचालक समितिले सो कुरा जानकारी गराएको छ ।

अस्पतालमा एक सय शैया छन् । गण्डकी प्रदेश सरकारबाट स्वीकृती समेत प्राप्त भइसकेको संचालक समिति अध्यक्ष लेखराज पन्तले बताए । स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिष्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छात्ति, प्रेसर, सुगर, दम र थाइराइड) लगायतका बिशेषज्ञ सेवा नियमित संचालन हुने उनले जानकारी दिए ।

‘सात जना बिशेषज्ञ चिकित्सक यही बसेर सेवा दिनुहुन्छ,’ उनले भने, ‘त्यो बाहेकको अन्य सुपर स्पेशल सेवाका लागि चितवनको नारायणी सामुदायिक अस्पतालसँग समन्वय गर्छौँ, बिरामीको फ्लो अनुसार साप्ताहिक, पाक्षिक वा मासिक एक पटक यही सेवा दिने व्यवस्था मिलाउछौँ ।’ हाल जिल्लामा नभएको इन्डोस्कोपी र सिटि स्क्यान सेवा पनि अस्पतालले दिने उनले बताए ।

सेवा शुभारम्भको पहिलो दिन ओपिडी निशुल्क रहने बताइएको छ । बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट हुने प्रवन्ध संचालक पुष्पराज शर्माले बताए । ‘दोस्रो र तेस्रो दिन ओपिडीमा ५० प्रतिशत र अरु सेवा शुल्कमा २५ प्रतिशत छुट दिन्छौँ,’ उनले भने, ‘चौथो दिनबाट भने हाम्रो दररेट अनुसार शुल्क लिन्छौँ ।’

उनका अनुसार ओपिडी शुल्क चारसय, भिडियो एक्स–रे सेवाको एक हजार, इन्डोस्कोपीको दुई हजार शुल्क निर्धारण गरिएको छ । इमर्जेन्सी टिकटको दुई सय र भर्ना हुने बिरामीको बेड चार्ज एक हजार लाग्ने अस्पतालले जनाएको छ । ‘सिटि स्क्यानका लागि न्यूनतम चार हजार शुल्क निर्धारण गरेका छौँ, शरीरको भाग अनुसार बढिमा दश हजारसम्म पर्न सक्छ,’ शर्माले भने ।

सात तले उक्त भवन निर्माणको काम २०७७ सालबाट सुरु भएको थियो । आवश्यक उपकरणसहित भवन निर्माणका लागि कुल ५४ करोड ७५ लाख खर्च भएको बताइएको छ । गोरखासँगै तनहूँ, लम्जुङ, धादिङ लगायतका स्थानीयलाई सुलभ शुल्कमा बिशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल संचालन गर्न लागिएको शर्माको भनाइ छ । उनका अनुसार अस्पतालमा गोरखाका ३५ र चितवनका ५९ गरी कुल ९४ जना शेयर सदस्य छन् ।

बिभिन्न संघसंस्थासँग सम्झौता गरेर सेवा शुल्कमा छुट दिने योजना समेत रहेको बताइएको छ । अस्पतालमा १६० जनाले रोजगार पाउने छन् । आगामी बर्षबाट नर्सिङ कलेज संचालन गर्ने तयारी समेत भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्