
खत्रीटारबाटै सेवा सुचारु गर्ने सहमतिपछि वडा कार्यालयको ताला खुल्यो
पालुङटार नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा लगाइएको ताला सहमतिपछि खुलाइएको छ । खत्रीटार सहरी स्वास्थ्य केन्द्र बन्द गर्ने निर्णयका विरुद्ध लगाइएको ताला सेवा सुचारु गर्ने सहमतिपछि पुन खुलेको हो ।
गाउँको स्वास्थ्य सेवाकेन्द्र बन्द गर्ने निर्णयका विरुद्ध स्थानीयबासी आक्रोशित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालय तालाबन्दी गरेर गाउँलेहरु बस रिजर्भ गरेर नगरपालिका कार्यालय पुगेर नगरप्रमुखसहितको वार्ता टोलीसँग छलफल गरेका थिए ।
बार्तामा साउन १८ गते आइतबारदेखि सेवा सुचारु गर्ने मौखिक सहमति भएको वार्ता टोलीका एक सदस्य दयाराम लामिछानेले बताए । यसअघि पालिकाले भोटेकाटेमा रहेको स्वास्थ्य चौकीको स्तर उन्नति गरी डाक्टरसहितको सुविधा दिने र खत्रीटार सहरी स्वास्थ्य केन्द्र बन्द गर्ने कार्यपालिकाले निर्णय गरेको थियो । निर्णयबमोजिम पत्राचार गरिएको थियो ।




