| आइतवार, कार्तिक २२, २०८३

डिभिजन वन कार्यालयद्वारा झन्डै दुई करोड राजश्व संकलन

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ९८ लाख ५१ हजार ९६१ रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत एककरोड चारलाख ९३ हजार ५०१ रुपैँया राजश्व संकलन भएको छ । यस्तै, वन क्षेत्र रोयल्टी (जडिवुटी संकलन, वेवारिसे, जोखिमयुक्त आयोजना) बापत रु ५७ लाख तीनहजार ५९३ संकलन भएको कार्यालयले जनाएको छ ।

निजी वन तथा सामुदायिक वन प्रदेश सेवा शुल्क अन्तरगत २६ लाख ४५ हजार ४७७ र राष्ट्रिय वनको काठ दाउरा बिक्रीबाट ९ लाख २२ हजार ६३२ रुपैँया राजश्व संकलन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । यस्तै, अन्य दण्डजरिवाना बापत ८६ लाख ७५० रुपैँया राजश्व संकलन भएको उनले जानकारी दिए ।

शुक्रबार कार्यालयको बार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उनले गत आव कार्यालयको वित्तिय प्रगति ८०.६० प्रतिशत रहेको बताएका छन् । उनका अनुसार कार्यालयलाई प्रदेश सरकारबाट चार करोड २५ लाख ३५ हजार र संघीय सरकारबाट ८४ लाख ७४ हजार गरी जम्मा पाँच करोड १० लाख ९ हजार बजेट आएको थियो । जसमध्ये चार करोड ११ लाख १८ हजार मात्र खर्च भएको शाण्डिल्यले बताए । कार्यालयको भौतिक प्रगति भने ९० प्रतिशत रहेको उनले जानकारी गराए । प्रदेश सरकारले कार्यक्रम तर्फ (पूँजीगत खर्च)का लागी बिनियोजन गरेको रकममा ९७.१९ प्रतिशत वित्तिय प्रगति रहेको कार्यालयले जनाएको छ ।

चालु खर्च (प्रशासनिक खर्च) को वित्तिय प्रगति भने ७६.३५ प्रतिशत रहेको बताइएको छ । संघको बित्तिय प्रगति ८८.६१ प्रतिशत र भौतिक प्रगति ९१ प्रतिशत प्रगति रहेको उनले बताए । कार्यालयले गत आर्थिक वर्ष ७५ वटा सामुदायिक वन र ६ वटा कबुलियति वन समूहहरुको कार्ययोजना नविकरण गरेको छ । गत आव जिल्लाका सामुदायिक वनहरुबाट २२ हजार ५६८ घनफिट काठ र २० चट्टा दाउरा उत्पादन भएका छन् ।

नीजि वनबाट भने चारलाख ७ हजार २१८ घनफिट काठ र १२ सय ९२ चट्टा दाउरा उत्पादन भएको वन कार्यालयको विवरणमा उल्लेख छ । यस्तै, ३५ हजार ५८२ केजी जडिबुटी संकलन भएको बताइएको छ । डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २ हेक्टर अतिक्रमित जग्गा नियन्त्रणमा लिएको छ । गत आव जिल्लाभर चार वटा पोखरी निर्माण भएका छन् भने कार्यालयले पूरानो काठ दाउरा व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्