| आइतवार, कार्तिक २२, २०८३

गोरखामा जडिबुटीबाट २० लाख राजश्व संकलन

प्रतीक्षा आले ।
जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्ष २०८१/०८२ मा २० लाख १६ हजार ४०४ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडिबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले सो परिमाणको राजश्व संकलन गरेको जनाएका छन् ।

मनासलु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडिबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । जसबाट १२ लाख ७० हजार ४१९ रुपैँया राजश्व संकलन भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । गत आर्थिक वर्ष ३४.१९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० रुपैँया राजश्व संकलन भएको एमक्याप प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार गत आर्थिकवर्ष तीन हजार सातसय ५२.५ केजी कुट्कीबाट एक लाख ५० हजार एकसय रुपैँया राजश्व संकलन भएको हो । ८० केजी वनलसुनबाट २४ सय रुपैँया राजश्व संकलन भएको उनको भनाइ छ ।

यस्तै, मनासलु क्षेत्रमा बुकीफुल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफुल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतो लगायत जडीबुटी संकलन गरेबापत राजश्व लिइएको एमक्याप प्रमुख शेरचनले बताएका छन् । ‘पहिला राजश्व संकलन गर्ने चलन थिएन त्यसैले कत्ति पनि नहुनु भन्दा हाल संकलन भएको रकम सन्तोषजनक नै हो तर यसलाई थप व्यवस्थित बनाउने हो भने अझै धेरै राजश्व संकलन गर्न सकिन्छ’, उनले भने ।

गत आर्थिकवर्ष मनासलु क्षेत्र बाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५८२ केजी जडिबुटीबाट डिभिजन वन कार्यालय गोरखाले सातलाख ४५ हजार ९८५ रुपैँया राजश्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार ९५ प्रतिशत जडीबुटी धार्चे गाउँपालिकाबाट संकलन तथा निकासी भएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट तीनलाख ५६ हजार २५० रुपैँया राजश्व संकलन गरेको छ ।

चारहजार ७५० केजी जटामसीबाट उक्त रकम राजश्व संकलन भएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी सागर खतिवडाले बताए । एकहजार एकसय ५० केजी झ्याउबाट ५७ हजार ५०० रुपैँया राजश्व संकलन भएको उनले जानकारी दिए । यस्तै, नौसय ६० केजी सेतकचिनीबाट २४ हजार रुपैँया, १६ सय ६० केजी वनलसुनबाट ४९ हजार आठसय रुपैँया, तीनसय ३५ केजी निरमसीबाट २० हजार एक सय रुपैँया र पाँच हजार केजी चुत्रोबाट ४० हजार रुपैँया राजश्व संकलन गरिएको उनको भनाइ छ ।

वन कार्यालयले अमला, अल्लो, कालादाना, कालो मुसली, कुट्की, कुरिलो, जंगली मह, टिमुर, तेजपात, नागबेली, निरमसी, पदमचाल, पाखनवेद, मजिठो, रातो च्याउ, लोक्ता र शिलाजितबाट राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष कार्यालयले निजी आवादी वनबाट बिक्री भएको १३ हजार ९९१ केजी चुत्रोबाट मूल्य अभिबृद्धि करबापत १५ हजार ७५६ रुपैँया संकलन गरेको छ । यसैगरी, निजी वनबाट बिक्री भएको तीनसय ३९ केजी तेजपातको करबापत एकसय ३५ रुपैँया संकलन गरेको कार्यालयको विवरणमा उल्लेख छ ।

जडिबुटीबाट स्थानीयबासीले मनग्य आम्दानी गर्न सक्ने र राज्यले पनि प्रशस्त राजस्व संकलन गर्ने हुँदा जडिबुटीलाई आम्दानीको आधार बनाउन सकिने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । जटिबुटी प्रवद्र्धनका लागि सरकारले अझै लगानी बढाउन जरुरी रहेको उनको तर्क छ । ‘हिमाली तथा उच्च पहाडी भूभागका बासिन्दाका लागि आयआर्जनको प्रमुख स्रोत जडिबुटी हुनसक्छ । तर असावधानीपूर्वक संकलन गर्ने गर्नाले धेरै जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘त्यसैले सरकारले विशेष नीति बनाएर जडीबुटीहरुको खेती गर्ने र त्यसलाई संरक्षण गर्न आवश्यक छ ।’ स्थानीयस्तरमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेर नागरिकहरुलाई बजारसम्म जोड्न पनि तीनै तहको सरकारको तत्परता आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्