| सोमवार, कार्तिक २३, २०८३

लार्के सडकलाई बर्सेनी बजेट घट्दै, चालुबर्ष जम्मा चार करोड मात्र

तिब्बत जोड्ने गरी निर्माण भइरहेको बेनिघाट, आरुघाट, लार्के सडकका लागि बजेट बर्सेनी घटिरहेको छ । बजेट बिनियोजनको बिगत पाँच बर्षयताको तथ्यांक अध्ययन गर्दा बर्सेनी उल्लेख्य बजेट घट्दै गएको देखिएको हो ।

नेपाली सेनाको विकास निर्देशनालयले कार्यान्वयन गर्ने गरी पाँचबर्षअघि सो सडकका लागि २५ करोड रुपैयाँ बिनियोजन भएको थियो । त्यसपछि १५ करोड विनियोजन भएकामा दुईबर्ष अघि १० करोड र गतबर्ष जम्मा सात करोड विनियोजन भएको निर्देशनालयले जनाएको छ । चालु आर्थिक बर्ष त्यसमा पनि घटेर जम्मा तीन करोड ९७ लाख विनियोजन भएको छ ।

पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको सीमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना गतबर्ष आठ महिना नबित्दै बजेट सकिएर ब्यारेक फर्किएको थियो । रकमान्तर गरेर भए पनि बजेट थप हुने आशा गरे पनि थप नभएपछि चुमनुब्री ३ पेवासम्म ट्रयाक पु¥याई सेना काम छाडेर फर्किएको हो ।

बेनिघाटदेखि दोभानसम्मको सडक भने नेपाली सेनाले सडक विभाग माताहत गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ । गत आर्थिक बर्ष १४ करोड विनियोजन भएकामा ११ करोड ११ लाख रुपैयाँ खर्च गरेकामा यसबर्ष घटेर नौ करोड रुपैयाँ मात्र विनियोजन भएको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए । लार्के भञ्ज्याङसम्मको १५४ किलोमिटरमध्य सो सडक नेपाली सेनाले धार्चेको हावाडाँडाबाट ४२ किलोमिटर पर पेवासम्म पु¥याएको छ ।

बेनिघाटदेखि हावाडाँडासम्म भने सडक योजना कार्यालयले निर्माण गरेको हो । हावाडाँडाबाट माथि ९२ किलोमिटर सडकको काम गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । सो खण्डमा ठूला पहरा र कडा चट्टान भएकाले बिस्फोटनको काम गर्न सेनामार्फत सजिलो हुने हुँदा सेनालाई दिइएको थियो ।

बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी बेनिघाटदेखि ९७ किलोमिटर पुर पाङसिङसम्मको खण्डमा सवारीसाधन चल्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्