
गत आर्थिक वर्ष भेटेरिनरी अस्पतालको कार्यप्रगति ७१ प्रतिशत,लोकमार्ग कोरिडोर लक्षित बाख्रा पालन कार्यक्रममा धेरै बजेट बिनियोजन
प्रतीक्षा आले ।
गत आर्थिक वर्ष २०८१÷८२ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको कार्यप्रगति ७१ प्रतिशत रहेको छ । चालु चालु (प्रशासनिक) खर्चतर्फ ७१.३ र पूँजीगत (कार्यक्रम खर्च)तर्फ ९५.७ प्रतिशत प्रगति हाँसिल गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष कार्यालय अन्तरगत लोकमार्ग कोरिडोर लक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रममा सबैभन्दा धेरै बजेट बिनियोजन भएको हो ।
गत आव बाख्रा विकास कार्यक्रमका लागि २ करोड १२ लाख रुपैँया बिनियोजन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख अन्नत कोइरालाले बताए । कोइरालाका अनुसार बाख्रा विकास कार्यक्रम अन्तरगत बाख्राको स्रोत केन्द्र स्थापना, खोेर सुधार कार्यक्रम र घाँसको स्रोत केन्द्र तथा नर्सरी स्थापना कार्यक्रम संचालन भएको छ । ‘मध्यपहाडी लोकमार्गले छोएका जिल्लाका पालुङटार नगरपालिका, सिरानचोक, भिमसेन, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकामा कार्यक्रम संचालन भएको थियो,’ उनले भने ।
बाख्राको स्रोत केन्द्र स्थापना अन्तरगत पालुङटारमा तीन, भीमसेनथापामा दुई र सिरानचोक, बारपाकसुलिकोट र आरुघाटमा एक–एक वटा स्रोत केन्द्र स्थापना भएको उनले जानकारी दिए । घाँसको स्रोत केन्द्र तथा नर्सरी स्थापना कार्यक्रम अन्तरगत पालुङटारमा चार र भीमसेनथापा गाउँपालिका र सिरानचोक गाउँपालिकामा एक–एक वटा केन्द्र स्थापना भएको उनले बताएका छन् । यस्तै, बाख्रको खोर सुधार कार्यक्रम अन्तरगत २७७ वटा खोर सुधार गरिएको बताइएको छ । हावापानीका हिसाबले जिल्लामा बाख्रापालनको राम्रो सम्भावना भएकाले यस आर्थिक वर्ष पनि बाख्रा विकास कार्यक्रमलाई निरन्तरता दिइने कार्यालय प्रमुख कोइरालाको भनाई छ ।
कार्यालयले गत वर्ष रु १० लाख बराबरको दुधमा उत्पादनका आधारमा प्रोत्साहन सहयोग कार्यक्रम संचालन गरेको थियो । जसमा अन्तरगत कार्यालयले गोरखा नगरपालिका वडा नं १४ याङकोटस्थित बुढीकोटी दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर ५ रुपैँयाका दरले अनुदान वितरण गरेको छ । संस्थाले उत्पादन गरेको २ लाख लिटर दुधमा प्रतिलिटर ५ रुपैँयाका दरले अनुदान दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
यस्तै, कार्यालयले रु २० लाख बजेटको बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रम संचालन गरेको थियो । पशु विकास प्रवद्र्धन कार्यक्रम गोरखा नगरपालिका १४ को कन्यादेवी कृषक समूह र सहिदलखन गाउँपालिका ८ को सनतानेश्वर कृषि सहकारी संस्थामा कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ । जस अन्तरगत भैँसी प्रवद्र्धन कार्यक्रम, गोठ सुधार कार्यक्रम र उन्नतजातको भैँसी तथा राँगो खरिद कार्यक्रम संचालन भएको बताइएको छ ।




