| मङ्लबार, कार्तिक २४, २०८३

मसला बालीमा किसानको आकर्षण

कृषि ज्ञानकेन्द्र गोरखाले सञ्चालन गरेका कार्यक्रमहरुमध्य मसला बालीमा किसानको धेरै आकर्षण रहेको पाइएको छ । कार्यालयले गत आर्थिक बर्ष सञ्चालन गरेका विभिन्न १३ कार्यक्रममध्य मसला बालीप्रति किसानको धेरै आकर्षण रहेको पाइएको ज्ञानकेन्द्रले जनाएको छ । सो कार्यक्रमका लागि कार्यालयबाट ६ लाख रुपैयाँ विनियोजन भएकामा ८५ प्रतिशत कार्य प्रगति भएको कार्यालयले जनाएको छ ।

मसला बाली अन्तर्गत खुर्सानी(अकबरे), अदुवा, हलेदो, अलैंची लगायतका बालीहरु पर्दछन् । ‘गत आर्थिक बर्ष विभिन्न १३ वटा कार्यक्रम सञ्चालन गरेका थियौँ । तीमध्य किसानको सबैभन्दा धेरै आकर्षण मसला बालीमा देखियो’, ज्ञानकेन्द्रका सूचना अधिकारी सुमन भट्टराईले भने, ‘सायद अदुवा, खुर्सानी, हलेदोहरुलाई बाँदरले नष्ट नगर्ने हुँदा किसानको आकर्षण भएको हुनसक्छ । मसला बालीले बजार पनि धेरै पाउने हुँदा किसानहरुले त्यसतर्फ आकर्षित भएको हुनसक्छ ।’

मसलाबाली लगाउने समूह, सहकारीका लागि कृषि ज्ञानकेन्द्रले ५० प्रतिशत अनुदान दिने गर्दछ । गत आर्थिक बर्ष २७ वटा आवेदन परेकामा ६ वटा समूह, सहकारी छनौटमा परेका थिए । त्यस्तै जलवायूमैत्री कृषि कार्यक्रम र ग्रामीण पोषण कार्यक्रममा कृषकको आकर्षण देखिएको छ । ज्ञानकेन्द्रले गत आर्थिक बर्ष सञ्चालन गरेको जलवायुमैत्री कृषि कार्यक्रममा ९६ प्रतिशत प्रगति भएको र ग्रामीण पोषण कार्यक्रममा ८९ प्रतिशत प्रगति भएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए ।

‘जलवायुमैत्री कृषि कार्यक्रममा गत आर्थिक बर्ष प्रदेश सरकारबाट १० लाख रुपैयाँ बिनियोजन भएको थियो’, भट्टराईले भने, ‘नौलाख ६७ हजार रुपैयाँ (९६ प्रतिशत) खर्च गर्न सफल भयौँ ।’ यस कार्यक्रम अन्तर्गत किसानले जलवायु अनुकूलन हुने खालका खेती प्रणाली अपनाउने गर्छन् । कागती खेती, टनेल निर्माण, सिँचाई, प्लास्टिक पोखरी निर्माण, प्लास्टिक मल्चिङ जस्ता कार्यक्रममा अनुदान दिने गरिएको सूचना अधिकारी भट्टराईले जानकारी दिए । कार्यालयले कृषक समूहलाई ९० प्रतिशत अनुदान दिने भएकाले यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।

ग्रामीण पोषण कार्यक्रमप्रति पनि कृषकको आकर्षण देखिएको छ । पोषणका दृष्टिकोणले असुरक्षित रहेका धार्चे, चुमनुब्री, अजीरकोट र सिरानचोक गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमको गत आर्थिक बर्ष ८९ प्रतिशत प्रगति देखिएको हो । यस कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँको कार्यक्रम विनियोजन गरेको थियो । पोषण वृद्धि गर्ने उद्देश्यले ज्ञानकेन्द्रले किसान समूह तथा सहकारीलाई पाँचलाखका दरले अनुदान दिने गरेको थियो । सो अनुदानबाट किसानले बोका तथा माउ खरिद, कुखुरा खरिद, खोर निर्माण तथा विउ खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्