
गोरखामा सुरु भयो पहिलो सस्तो दशैँ मेला (फोटो फिचर)
अनुपमा खनाल
गोरखा सदरमुकाममा शनिबारदेखि दशैं मेला सुरु भएको छ । गोरखा च्याम्बर अफ कमर्शले हरमटारीको खेलकुद मैदानमा दशै सस्तो बजार एवं सडक मेलाको आयोजना गरेको हो । मेलाको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभयो ।

मेलामा अध्यक्ष प्रचण्ड, नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ, संघीय सांसद हरिराज अधिकारी, चुडामणि खड्का, प्रदेश मन्त्रीहरु रामशरण बस्नेत, लेखबहादुर थापा, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पत्रकार महासंघ, गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
मेला सुरु हुनुअघि विभिन्न टोलका महिला समूह, टोल विकास संस्था तथा आदिवासी जनजातिको सांस्कृतिक झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
मेलामा १३० वटा स्टल छन् । स्टलमा हिमाली भेगबाट ल्याइएको स्थानीय उत्पादनहरु भीरमौरीको मह, मकैको च्याँख्ला, कोदोको पिठो,च्याङग्रा, सिलाम, आलु तथा जडिबुटीहरु राखिएका छन् । त्यस्तै दशैंका लागि आबश्यक कपडा तथा उपभोग्य सामग्रीहरु पनि राखिएको छ । यस्तै, स्थानीय स्तरमा आरानबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामाग्री, नेपाली जुत्ताचप्पल, अल्लोका कपडा, भान्साका सामाग्री, बुटिकका कपडाहरु, चिनिया सामाग्रीहरु पनि स्टलमा राखिएको छ । 
करीब ६ करोड रुपैयाको आर्थिक कारोबार गर्ने लक्ष्य सहित हुन लागेको मेला ४० देखि ६० हजार दर्शकले अबलोकन गर्ने आयोजकको अनुमान छ । असोज ३० गतेसम्म सञ्चालन हुने मेलास्थलमा प्रबेश शुल्क नलाग्ने च्याम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताउनु भयो ।




