| आइतवार, कार्तिक २२, २०८३

मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा

१० मेगावाट क्षमताको मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा छ । बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले गोरखाको बारपाक र घ्याच्चोकको सीमा, दरौंदी नदीमा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको जनसम्पर्क अधिकृत कृष्ण पन्थीले जानकारी दिए ।

‘अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने, ‘अब तीन महिनाभित्र काम सम्पन्न गरेर विद्युत उत्पादन सुरु हुन्छ ।’ दुई महिना बर्खा र संगसंगै ठूला चाडपर्वहरु आएकाले कात्तिक, मंसीरबाट काम सुरु गरेर सम्पन्न गर्ने उनले बताए ।
धन्सिराको फेदीमा बाँध बाँधिएको छ भने बाँधस्थलबाट ३.८ किलोमिटर तल राङरुङमा पावर हाउस निर्माण गरिएको छ ।

पावरहाउस बनिसकेको छ । त्यहाँ मेसिन, उपकरणहरु जोडेर स्वीचयार्ड पनि तयार भइसकेको छ । सस्ट्याङ र पेनस्टक लाइनको दुईसय मिटरको काम बाँकी छ । पावरहाउसमा घेराबारको काम पनि बाँकी रहेको उनले बताए । राङरुङको पावरहाउसमा उत्पादन भएको विद्युत भीमसेनथापा १ घ्याम्पेशालको सवस्टेशनस्थित केन्द्रीय ग्रीडमा ल्याएर जोडिनेछ ।

त्यहाँसम्मको १८ किलोमिटरमध्य १२ किलोमिटर ट्रान्समिशन लाइन तान्ने काम सम्पन्न भइसकेको र ६ किलोमिटर बाँकी रहेको जनसम्पर्क अधिकृत पन्थीको भनाइ छ । कूल एक अर्ब ६० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको छ । जसमध्य प्राइम कमर्सियल वैंकको ७० प्रतिशत र कम्पनीका सञ्चालक डाक्टर सन्दीप खड्काको ३० प्रतिशत लगानी रहेको छ ।

२०७८ सालबाट सुरु भएको निर्माणको काम चार बर्षमा सम्पन्न हुने अबस्थामा पुगेको आयोजनाका भोजराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्