| मङ्लबार, कार्तिक २४, २०८३

एक बर्षमा ९ जना एचआइभी संक्रमित थपिए

एक बर्षको अवधिमा गोरखामा ९ जना एचआइभी संक्रमित थपिएका छन् । कुल १ सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टी भएको एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालले जनाएको छ । एचआइभीको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा नियमित औषधी खाने एचआइभी संक्रमितको संख्या २ सय ३५ रहेको छ ।

मंगलवार गोरखा नगरपालिकामा सम्पन्न स्थानीय परियोजना सल्लाहकार समिति बैठकमा संस्थाका एआरटी क्लिनिक अफिसर रविन दानीले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । बैठकमा उनले ६ महिनाको अवधिमा संस्थाले २ सय ५० जना एचआइभी संक्रमितलाई बिभिन्न सेवा प्रदान गरेको जानकारी गराए ।

सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म एचआइभी संक्रमितमध्ये १ सय १६ जनालाई यातायात सेवा, १ सय ६४ जनालाई पोषण सेवा र २१ जनालाई ल्याव परीक्षण सेवा निशुल्क उपलब्ध गरायौ,’ उनले भने, ‘४८ जनालाई औषधी सहयोग ग¥यौ, एक जनालाई जटिल रोग व्यवस्थापन सेवा दियौँ ।’ संक्रमित एक जनालाई सिलाई बुनाई मेसिन निशुल्क उपलब्ध गराइएको दानीले बताए । उनका अनुसार गल्फ एक्ट कार्यक्रम अन्तरगत उक्त मेसिन उपलब्ध गराइएको हो ।

सन् २०२४ देखि उक्त संस्थाले गोरखामा काम गर्दै आएको छ । एचआइभी संक्रमितलाई आवश्यक परामर्श, औषधी लिन आउजाउका लागि यातायात सुविधा, पोषण, ल्याव लगायतका सेवा संस्थाले दिदै आएको छ । एचआइभी संक्रमण रोकथामका लागि हालसम्म दश हजारभन्दा बढी कण्डम निशुल्क वितरण समेत भइसकेको संस्थाले जनाएको छ ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको अध्यक्षतामा भएको बैठकमा संस्थाले हालसम्म गरेको कार्यको समिक्षा गरिएको थियो । गोनपाको आयोजना तथा संस्थाको समन्वयमा भएको बैठकमा वडाध्यक्ष, गोरखा अस्पतालका मेडिलक सुपरिटेण्डेन्ट डा. सिदार्थ खनाल, स्वास्थ्य कार्यालयका प्रमुख एवं प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्