
वैदेशिक रोजगारी छाडेर बाख्रापालन रोज्दै उत्तरकुमार
बारपाक सुलिकोट ४ झोलुङ्गेका ३३ बर्षीय उत्तरकुमार घले सात बर्षअघि दुबई जाने चक्करमा थिए । तर स्वास्थ्यमा सानोतिनो समस्या देखिएपछि उनलाई त्यो अवसरमा ढोका लाग्यो ।
एउटा अवसरमा ढोका लागेलगत्तै उनको अर्को भाग्यको ढोका खुल्यो । ‘एकातिर वृद्ध अवस्थाकी आमा, अर्कातिर बेरोजगार जीवन बिताउन मलाई साह्रै कठिन भइरहेको थियो’, ती दिनहरुको सम्झनामा डुब्दै उनले भने, ‘केही व्यवसाय गर्न सहयोग गरिदिनुप¥यो भन्दै गाउँपालिकामा गएँ । त्यहाँबाट मलाई ५० हजार रुपैयाँ अनुदान मिल्यो ।’ ५० हजार रुपैयाँले व्यवसाय गर्न सजिलो थिएन ।
आफ्ना दौतरी सबै विदेशिए पनि आफू घरधन्दा गरेर बसेकामा सबैले खिसिट्युरी गरेको तितो सम्झना पनि उनमा ताजै छन् । ‘म बाख्रा पालन गर्छु भनेर खोर बनाउन दरौँदीबाट डोकोभरि ढुंगा बोकेर ल्याउँथे । गारो लगाउँथे । वनबाट काठपात काटेर ल्याउँथे’, उनले भने, ‘मान्छेहरु मलाई बौलायो भनेर जिस्क्याउँथे । तर म कत्तिपनि नआत्तिईकन आफ्नो काम गरिरहेँ । खै राम्रो गरेँ कि नराम्रो गरेँ, अहिले यो अवस्थामा आइपुगेको छु ।’
उनको त्यही खोरमा अहिले ८५ वटा बाख्राहरु छन् । ३५ भन्दा धेरै लोकल कुखुरा छन् । त्यही व्यवसायमा उनी लिप्त छन् । बिहान उठेदेखि साँझसम्म बाख्रा, कुखुराको धन्दामा रमिरहेका हुन्छन् ।
उनको कामलाई गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको छ । ‘पछि प्रदेशबाट तीनलाख रुपैयाँ अनुदान पनि आयो’, उनले भने, ‘अनि पालिकाबाट व्याज तिरिदिने गरी चारलाख रुपैयाँ कृषि ऋण पनि लिएँ ।’ सुरुमा १५ वटा बाख्रा पालेका उनले यसरी ८५ वटा पु¥याएको बताए । ‘नयाँ खोर पनि बनाउँदैछु । अब बाख्रा दुईसय वटा पु¥याउने लक्ष्य छ’, उनले भने ।
विदेशमा गएर अर्काको आदेशमा काम गर्नुभन्दा यहीँ दुख गरेकोमा उनलाई आनन्द महशुस भएको छ । ‘कि पढेर जानिन्छ, कि परेर जानिन्छ भन्छन् । आफूले त पढ्दा पनि पढिएन । अब गरेरै जानिने हो’, उनी भन्छन्, ‘के समस्या भयो भने के गर्ने भन्ने कुरा युटुव हेरेर काम गर्ने गरेको छु । युटुव हेर्न घरमा वाइफाइ पनि जोडेको छु ।’
उनको झोलुङ्गे टोलमा २७ घरधुरी थियो । अहिले बसाइँसराइले गर्दा १८ घरधुरी मात्र बाँकी छन् । तैपनि उनलाई काम छोड्ने, विदेश जाने, थातथलो छोड्ने मन छैन । ‘अझै २० बर्ष यही काम गर्छु’, उनी भन्छन्, ‘मसंगै दुवई जाने तयारी गरेको मान्छेले चितवनमा घर घडेरी जोडिसक्यो । परिबार उतै सारिसक्यो । मजस्तै बाख्रा पालन गरेका अरुहरुले अनुदान खाएर व्यवसाय छाडेका छन् । त म बेइमान गर्दिन ।’
उनलाई बाख्रा पालन गरेर गाउँघरमै बस्न आमाको पूर्ण साथ र समर्थन छ । श्रीमती र एक सन्तान काठमाडौंमा बस्छन् । उनी ८० पुगेकी आमालाई स्याहार सम्भार गर्दै र बाख्रा पालन गर्दै गाउँमा बसेका छन् ।




