| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल

प्रतीक्षा आले । जिल्लाको अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ । वडा नं. २ को मूलखर्क र नब्लूका दुई वटा स्याउ फर्ममा तीनवर्ष अघि परीक्षणका रुपमा लगाइएको स्याउले यसबर्षदेखि व्यवसायिक उत्पादन दिन सुरु गरेको व्यवसायीहरुले बताएका छन् ।

विरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अन्तर्गत अजिरकोट वडा नं. २ को २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडिबुटी तथा स्याउ फर्ममा र नब्लू स्याउ फर्ममा लगाइएको स्याउ यसबर्षदेखि व्यवसायिक उत्पादन सुरु भएको हो । स्थानीय व्यवसायीहरु सञ्जिव लामाले मूलखर्क स्याउ फर्ममा चारसय र भीम तामाङले नब्लू स्याउ फर्ममा चारसय वटा विरुवा रोपेका थिए ।

दुवै फर्ममा लगाइएको स्याउका बोटहरुले अनुमानित एकहजारदेखि पन्द्रसय केजीसम्म फल दिएको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताउनुभयो । ‘तीन वर्षअघि परीक्षणका रुपमा लगाएको अहिले दुवै फर्ममा लटरम्मै स्याउको दाना फलेको छ । यसलाई परीक्षण सफल भएको मानेका छौँ’, उहाँले भन्नुभयो, ‘परीक्षण सफल भएसँगै व्यवसायिक स्याउ खेतीको क्षेत्र बिस्तार गर्ने योजना पालिकाको छ ।’ पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले २०७९ मा परीक्षणका रुपमा स्याउको बिरुवा रोपेको व्यवसायी सञ्जिव लामाले बताउनुभयो । ‘गाउँपालिकाले इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा लगाएका थियौँ । त्यसमा पालिकाले ५० प्रतिशत अनुदान दिएको थियो’, उहाँले भन्नुभयो, ‘पोहोर पनि फलेको थियो । पहिलो बर्षको भएकाले टिपेर फ्याक्यौँ । यसबर्षकोचाहिँ बजारमा पु¥याउनेछौँ ।’ यसबर्ष अजिरकोटका उपभोक्ताहरुमा खपत गर्ने र आउँदो बर्ष ठेकेदारसंग सम्पर्क गर्ने उहाँले बताउनु भयो ।

पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि व्यवसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आउँदो बर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भू थापाले बताउनु भयो । वडा नम्वर १ र २ मा खेती बिस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना समेत रहेको पालिका अध्यक्ष दीपक देवकोटा बताउनुहुन्छ । स्याउ खेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य समेत रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्