
भच्चेक आधारभुत अस्पतालमा पनि शल्यक्रिया सेवा
फ्रान्सेली सहयोगदाताले अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको छ । फ्रान्सको नमस्ते ग्रनवल युनिभर्सिटीका मेडिकल स्टुडेन्टहरुले मनोज एसोसिएसन फ्रान्स र मुटु फाउन्डेशन नेपालमार्फत भच्चेक अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो ।
नमस्ते ग्रनवल युनिभर्सिटी फ्रान्सको १० औँ वार्षिकउत्सवको अवसर पारेर त्यहाँका मेडिकल स्टुडेन्टहरुले भच्चेक अस्पताललाई ४० लाख बराबरको शल्यक्रिया कक्षाको सामग्री हस्तान्तरण गरेको मुटु फाउन्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले बताए । गुरुङका अनुसार मेडिकल स्टुडेन्टहरुले शल्यक्रिया कक्षाभित्र चाहिने एनेस्थेसिया मेसिन, ओटी टेबल, ओटी लाइट लगायत सामाग्रीहरु हस्तानतरण गरेको छ ।
‘अबदेखि भने भच्चेक अस्पतालमा सिजेरियन सेक्सनसहितको अपरेशन सेवा सुरु हुने भएको छ । यसबाट अजिरकोट गाउँपालिकाका गर्भवती आमा तथा बिरामीहरूले समयमै सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्’, उनले भने । बिहिबार एक समारोहबीच गाउँपालिकालाई शल्यक्रिया कक्षाको सामग्रीहरु हस्तान्तरण गरेको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, भच्चेक आधारभुत अस्पतालका कर्मचारीहरु, मुटु फाउन्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङ, नमस्ते ग्रनवल युनिभर्सिटीका मेडिकल स्टुडेन्टहरु स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागितामा अस्पताललाई सामाग्री हस्तान्तरण गरिएको हो ।
मुटु फाउन्डेशन नेपालले विगत लामो समयदेखि विभिन्न संघ संस्थाहरुसँगको साँझेदारीमा जिल्लामा स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आईरहेका छ। फाउन्डेसनले स्वाथ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण, विभिन्न किसिमका स्वास्थ्स शिविर संचालन, एम्बुलेन्स सेवा प्रदान ,दलित तथा विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, महिला तथा किशोरीहरूलाई धुन मिल्ने सेनेटरी प्याड वितरण, फोहरमैला व्यवस्थापनका लागि डस्टबिन वितरण, दलित समुदायलाई स्वास्थ्य बीमा, र भिजन सेन्टर स्थापना, मातृ मृत्युदरलाई कम गर्न ग्रामिण भिडियो एक्सरे सेवा, डेन्टल क्याविन स्थापना जस्ता कार्यक्रमहरू संचालन गर्दै आएको छ ।




