| आइतवार, कार्तिक २२, २०८३

आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्ला दररेट कायम

आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट कायम गरेको हो । समितिले अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर, कुल्ली र लेन्थ वर्करको प्रतिदिन ८८० रुपैँया ज्यालादर निर्धारण गरेको छ ।

समितिले गत बर्षकै मूल्य कायम गर्दै अर्धदक्ष र दक्ष कामदारको ज्यालादर निर्धारण गरेको छ । आव ०८२/०८३ का लागि समितिले अर्धदक्ष कामदारको प्रतिदिन ९९० र दक्ष कामदारको १२ सय ४० रुपैयाँ ज्याला निर्धारण गरेको छ ।वन हेरालु, नर्सरी हेरालु, सर्भे, पोलिङ, केवलिङ, हेल्पर, चेनमेन, वाचमेनको भने प्रति दिन ६ सय ८० रुपैया ज्याला तोकिएको छ ।
झोलुङ्गे पुलको विण्ड टाई मिलाउने, सस्पेन्सन प्रकारको पुलको सस्पेण्डर राख्ने, मेन केवल तथा सस्पेण्डरमा ग्रीज तथा रंग लगाउने दक्ष कामदारको प्रति दिनको ज्याला १४ सय ५० कायम गरिएको छ ।

यस्तै, चिम्निको ईट्टा ‘ए’ ग्रेडको प्रति हजार १६ हजार मूल्य निर्धारण गरिएको छ भने चिम्निको ईट्टा तराई ‘ए’ ग्रेडको प्रति हजार गोटाको २० हजार ५ सय मूल्य निर्धारण गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । मेसिन मेड चाइनिज ईट्टाको १६ हजार रुपैया (प्रति हजार गोटा) र चिम्नी भट्टाको लोकल ईट्टाको १४ हजार मूल्य कायम गरिएको उनले जानकारी दिए ।

उनका अनुसार लोकल भट्टाको ईट्टाको मूल्य भने हजार गोटाको ८ हजार ८ सय निर्धारण गरिएको छ । यस्तै, टुक्रा इट्टा र सुर्खीको प्रति घनमिटर रु २ हजार २ सय निर्धारण गरिएको छ । ढुंगाको हकमा भने समितिले गत वर्षकै मूल्य कायम गरेको छ । यसरी यो वर्ष पनि बोल्डर ढुङ्गाको प्रति घनमिटर रु १८ सय २० रुपँैया, बिग बोल्डर (५० सेमिभन्दा बढीको) रु २ हजार रुपैँया, फोरुवा खानीको रु १९ सय, भुँइमा छाप्ने स्थानीय ढुङ्गाको प्रतिवर्गमिटर रु एकहजार ५० र भुँइमा छाप्ने राम्रो ढुङ्गाको प्रति वर्गमिटर रु १५ सय रुपैँया मूल्य निर्धारण गरिएको छ ।

यो वर्ष गिटीको मूल्यमा पनि बृद्धि गरिएको छैन । कुटेको गिटीको आकार अनुसार प्रति घनमिटर २१ सयदेखि २२ सयसम्म मूल्य निर्धारण भएको छ भने क्रसरको गिटीको मूल्य प्रति घनमिटर २ हजार निर्धारण गरिएको छ । चिप्सको मूल्य प्रति घनमिटर २२ सय कायम गरिएको छ । धोएको राम्रो गुणस्तरको वालुवाको मूल्य पनि प्रति घनमिटर २२ सय रुपैया कायम भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्