
खत्रीटार स्वास्थ्य संस्था बन्दको बिरोधमा तालाबन्दी
गाउँमा १० बर्षदेखि सञ्चालन भइरहेको स्वास्थ्य संस्था बन्द गर्ने नगरपालिकाको निर्णयकोबिरोध गर्दै पालुङटार ७ खत्रीटारका बासिन्दाले स्थानीय स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् । सहरी स्वास्थ्यकेन्द्र व्यवस्थापन समिति र स्थानीयबासीले खत्रीटार सहरी स्वास्थ्य केन्द्रमा ताला लगाएका हुन् ।
स्वास्थ्य संस्थामातालाबन्दी गरी समिति र स्थानीयबासी बस रिजर्भ गरी नगर कार्यपालिकाको कार्यालयमा डेलिगेशन गएका स्थानीय रामेश्वर केशीले जानकारी दिए । ‘यो स्वास्थ्य केन्द्रको क्षेत्रभित्र करिब तीनसय घरधुरीका बासिन्दा बस्छन् । दैनिक २० जनाभन्दा धेरै बिरामीले यहाँबाट सेवा लिइरहेका छन्’, केशीले भने, ‘स्वास्थ्य केन्द्रको भवन बनाउन हामीले जग्गा पनि दिएका हौं । तर अहिले नगरपालिकाले स्थानीयबासीलाई जानकारी नै नदिई यो बन्द गरेर भोटेकाटे स्वास्थ्यचौकीमा मर्ज गर्ने निर्णय ग¥यो । यो हामीलाई मान्य छैन । यहाँका कुनै सरसामान, कागजात बाहिर लैजान दिँदैनौं भनेर ताला लगाएका हौँ ।’
स्थ्य संस्थामा तालाबन्दी गरेपछि यहाँ कार्यरत अहेब र अनमि च्याङ्ली स्वास्थ्य चौकीमा हाजिर हुन गएका छन् ।
पालुङटार नगर कार्यपालिकाको केही दिनअघिको बैठकले सो स्वास्थ्यकेन्द्र बन्द गर्ने निर्णय गरेको थियो । यहाँ कार्यरत अहेब बिमला कँडेललाई मिरकोट स्वास्थ्य चौकीमा, अनमि कल्पना त्रिपाठीलाई सेवा स्वास्थ्य केन्द्रमा सरुवा गरेको नगरपालिकाले जनाएको छ । १० बर्षदेखि कार्यरत कार्यालय सहयोगी सुनिता कुमाललाई भने निश्कासन गर्ने भएको छ ।
वडा नं. ६ भोटेकाटेमा स्तरीय स्वास्थ्य संस्था स्थापना गर्ने र खत्रीटार सहरी स्वास्थ्यकेन्द्र त्यसमै मर्जर गर्ने कार्यपालिकाको निर्णय रहेको स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले जानकारी दिइन् । ‘भोटेकाटे, खत्रीटार र च्याङ्ली नजिक नजिक पर्छ’, उनले भनिन्, ‘नजिक नजिकै तीनवटा स्वास्थ्य संस्था हुनुभन्दा मर्ज गर्नु राम्रो हुन्छ भनेर कार्यपालिका बैठकले मर्जर गर्ने निर्णय गरेको हो ।’ भोटेकाटेमा नेपाल भारत मैत्री भवन निर्माण भएको छ । त्यहाँ साउन १ गतेदेखि डाक्टरसहितको स्वास्थ्य सेवा सुरु गर्न लागेको उनले जानकारी दिइन्।
गाउँमा धेरै बुढापाका रहेका र सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घरघरमै गएर स्वास्थ्य सेवा दिइरहेको हुँदा यसलाई मर्ज गर्नु नहुने जग्गादाता नन्दकुमारी खत्रीको भनाइ छ ।




