| शनिबार, अशोज ९, २०८३

बारपाक सुलिकोटले दियो ४ जिपिए ल्याउने श्रेष्ठलाई एक लाख

बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा ४ जिपिए प्राप्त गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । पालिकाले सूर्य ज्योतिमा वि का छात्र अनुपम श्रेष्ठलाई उत्कृष्ट नतिजा (४ जिपिए) हाँसिल गरेको भन्दै सम्मान स्वरुप एक लाख प्रदान गरिएको हो ।

सोमबार समग्र गाउँपालिका भित्रका सामुदायिक विद्यालयको एसईई परिक्षा २०८१ को नतिजा बारे समिक्षा तथा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । यस्तै ३.६ जिपिए हासिल गर्ने सोही विद्यालयका छात्र सुजल थापालाई १५ हजार रुपैयाँ र समान पत्रले सम्मान गरिएको गाउँपालिकाका शिक्षा संयोजक भिम कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा अंग्रेजी शिक्षक दिनेश गुरुङ, विज्ञान तथा प्रविधि शिक्षक विपन गुरुङ, शिक्षा विषयका शिक्षक कृष्ण कुमारी गुरुङ, अर्थशास्त्र विषय शिक्षक नारायण श्रेष्ठलाई उत्कृष्ट विषयगत शिक्षकको रूपमा सम्मान गरिएको उनले बताए । यसैगरी अनिवार्य गणित शिक्षक शंकर देव भट्ट, लेखा तथा कार्यालय सञ्चालक शिक्षक मन कुमारी थापा, सामाजिक शिक्षक रामचन्द्र अधिकारी, ऐच्छिक गणित शिक्षक चेतबहादुर थापा र नेपाली शिक्षक रित थापा मगरलाई पनि सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर नगद ५ हजार प्रदान गरिएको शिक्षा संयोजक श्रेष्ठले बताए । पालिकाबाट २०८१ एसईई परिक्षामा २९४ जना सहभागि भएकोमा ६२ प्रतिशत उर्तिण भएको उनले जानकारी दिए । समिक्षा कार्यक्रमका सहभागिहरुले पालिकाको शिक्षा क्षेत्रमा केही सुधार भएता पनि अझै राम्रो गर्नु पर्ने सुझाएको उनले बताए ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुवास आले, वडा नं. ६,७ र ८ का वडाध्यक्षहरु, पालिका भित्रका सबै सामुदायिक विद्यालयका प्र.अ एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्