| मङ्लबार, कार्तिक २४, २०८३

गोगनपानी टारीफाँटमा विदेशी खेताला

अजिरकोट गाउँपालिका ४ गोगनपानी, टाँरीफाँटमा बिहान ११ बजे सबैको मेलामा खेताला पसिसकेका थिए । कोही हिल्याउँदै, कोही साउँदै र सम्याउँदै, कोही बाउसे गर्दै, कोही बिउ उखाल्दै, बोक्दै अनि कोही रोप्नमा व्यस्त थिए । टारीफाँटको सबै मेलामाभन्दा विष्णु गुरुङको मेलामा बेग्लै दृश्य देखिएको थियो । त्यहाँको रोपाइँमा गोरागोरा, अग्लाअग्ला खेतालाले खेत भरिएको थियो ।

खेतमा थिए फ्रान्सेली खेताला । ग्रेनोबल विश्वविद्यालयमा एमबिबिएस दोस्रो बर्ष पढ्दै गरेका ६ जना विद्यार्थी विष्णु गुरुङको मेलामा खेताला भएर आएका थिए । दुई दिनअघि गोगनपानी आएका उनीहरु रोपाइँमा काम गर्न पाउँदा असाध्यै खुशी भएका उनलाई समन्वय गरेर लिएर आएका धनबहादुर गुरुङको भनाइ छ ।

‘बिहान ११ बजे मेलामा पसेका हुन्, खाजा खाने बेलासम्म खटिए’, गुरुङले भने, ‘कसैले हिल्याए, कसैले साए । कसैले बाउसे गरे, कसैले बिउ उखालेर बोके । कसैले रोपे । सबैजना खुशी थिए । मेलाबाट निस्किनै मानिरहेका थिएनन् ।’ उनीहरु गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहयोग गर्न त्यहाँ आएका हुन् ।

अजिरकोट गाउँपालिकाको ५० प्रतिशत र मनोज एशोसिएशन, मुटु फाउण्डेशनले सञ्चालन गरेको नमस्ते प्रोजेक्टको ५० प्रतिशत लागत साझेदारीमा पालिकाभरि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सोही कार्यक्रममा सहयोग गर्न उनीहरु त्यहाँ आएका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्