
भोटेकोशीमा बेपत्ता भएका गोरखाका दुईजनाको आफन्त सम्पर्कमा आएनन्
रसुवाको भोटेकोशीको बाढीमा परी बेपत्ता भएका गोरखाका दुईजनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । सो बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न उनीहरुका आफन्त नआएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोशीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए । पालुङ्टार ६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकको रुपमा कार्यरत थिए । हाल विभिन्न व्यक्तिहरुको शव फेला परिरहेको र लास जाँच प्रकृति मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
तर शव सनाखत गर्न गोरखाका कोही पनि सम्पर्कमा नआएका प्रहरी एसपी भरत विकले जानकारी दिए । शव सनाखत तथा दाबी गर्न कोही पनि नआए पनि जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक सूचना जारी गरी यथेस्ट प्रमाण पुग्ने गरी शव दावी गर्न आउन आग्रह गरेको छ ।
‘नाम र ठेगानामा पालुङ्टार ६ निवासी दिलबहादुर तामाङ र धनबहादुर विक उल्लेख छ तर अहिलेसम्म कोही पनि सनाखत गर्न आउनु भएको छैन’, एसपी विकले भने, ‘हामीले पालुङटार ६ मा मृतकको घर भए नभएको खोजबीन पनि ग¥यौँ तर, कसैले पनि आफन्तजन हराइरहेको दाबी गर्नुभएन ।’ ठेगाना फरक भएको पनि हुन सक्ने भन्दै प्रहरीले आफन्त हराइरहेका भए सम्पर्कमा आउन आग्रह गरेको छ ।




