
आरुघाटको नीति : स्वरोजगारका लागि ब्याजमा अनुदानदेखि पर्यटन प्रवद्र्धनसम्म
आरुघाट गाउँपालिकाले आगामी बर्ष हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष राजु गुरुङले पालिकालाई दुध, मासु, अण्डामा आत्मनिर्भर बनाउने नीति रहेको बताए । जसकालागि उत्पादनमा आधारित अनुदानलाई निरन्तरता दिने उनले जानकारी दिए ।
युवामा स्वरोजगार व्याजमा अनुदान भन्ने मूल नाराका साथ व्यवसायिक पशुपालन गर्न चाहने युवाहरुलाई व्याजमा अनुदान उपलब्ध गराउने पालिकाले जनाएको छ । खेत खेतमा कृषि प्राविधिक, गोठ गोठमा पशु प्राविधिक नीतिलाई कार्यान्वयन गर्ने पालिकाको आगामी बर्षको नीति छ ।
बाख्रा पकेट कार्यक्रमअन्तरगत २५ भन्दा बढी माउ बाख्रा पाल्ने कृषकका लागि बिशेष कार्यक्रम संचालन गर्ने बताइएको छ । उत्पादित कृषि उपजको बजारीकरणका लागि संकलन केन्द्र र हाट बजार संचालन गर्ने पालिकाको योजना छ । पालिकाभित्रका साहसिक पर्यटनतर्फ ‘रक क्लाइम्विङ’को सम्भावना भएको सोतीबजार र घ्यापिन्थोकको बिकासकालागि पहल गर्ने पालिकाले जनाएको छ ।
संचालनमा नआएका सहकारीलाई खारेज गर्ने, सानालाई एकीकरण गर्ने र अन्य ठुलाको क्षमता बिकासमा जोड दिने नीति पालिकाले लिएको छ । बुढीगण्डकी जल बिद्युत आयोजना काकारण डुवानमा पर्ने पालिकाको प्रशासनिक भवन, सामुदायिक विद्यालय, क्याम्पस लगायतका सरकारी कार्यालयहरुको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न आयोजना र संघीय सरकारसँग पहल गर्ने पालिकाले नीति लिएको छ ।
बिद्यार्थीका लागि पढ्दै सिक्दै र सिक्दै कमाउँदै कार्यक्रम संचालन गरिने बताइएको छ । पालिकाभित्र रहेको एक मात्र सामुदायिक क्याम्पस भीमोदय बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पसको रुपमा रुपान्तरण गर्न बिशेष पहल गरिने पालिकाले जनाएको छ । जेष्ठ नागरिकहरुको प्राथमिक स्वास्थ्य सेवाका लागि जेष्ठ नागरिक स्वास्थ्य जाँच उमेर सत्तरी कार्यक्रमले निरन्तरता पाउने भएको छ ।
स्वास्थ्य संस्थाहरुको सेवा वृद्धि गर्दै स्तरोन्नती गरिने बताइएको छ । बालमैत्री स्थानीय तह निर्माणका लागि प्रकृयागत रुपमा कार्यक्रम संचालन गर्ने पालिकाको योजना छ । पालिकाभित्र बालमैत्री तथा अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा पहल गर्ने पालिकाको योजना छ । पालिकाको केन्द्रसँग जोड्ने सबै वडास्तरीय सडकहरुको निर्माण र स्तरोन्नतीको कार्यलाई पालिकाले निरन्तरता दिने भएको छ ।
आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक पहल गर्ने बताइएको छ । ग्यास चुलोको प्रयोगलाई निरुत्साहित गर्ने पालिकाको योजना छ । स्थानीय स्रोत दाउराको खपत गर्न सुधारिएको चुलो व्यवस्थापन तथा अनुदानमा बिद्युतीय चुलो उपलब्ध गराउने पालिकाले योजना बनाएको छ । आरुघाट, आरुटार, आर्खेत लगायतका मुख्यबजारमा फ्रि वाईफाईको व्यवस्था गर्ने पालिकाले जनाएको छ ।




