| आइतवार, कार्तिक २२, २०८३

विकटको पालिकामा टेलीमेडिसिन सेवा

विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलीमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो ।

ग्रामिण क्षेत्रको विशेषतः गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरी उक्त सेवा सुरु गरिएको गोरेटो गारेखाको कार्यकारी निर्देशक पवनरवण खनालले बताए । उनका अनुसार संस्थाले हाल धार्चे गाउँपालिकाअन्तरगतका ७ वटा वडाहरुमा रहेका सात स्वास्थ्य चौकीमा ‘टेलीमेडिसिन सेट’ स्थापना गरेर सेवा सुचारु गरेको छ ।

‘टेलीमेडिसिनको सेटमा एउटा क्यामेरा, टेलिभिजन, टेलिफोन र स्पिकर हुन्छ । धार्चेको सातवटा स्वास्थ्य चौकी र प्रदेश अस्पताल गोरखामा उक्त सेट स्थापना गरेर सेवा सुरु गरेका हौँ’, उनले भने, ‘ग्रामिणका बिरामीहरुको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनको माध्यमबाट सेवा लिन सकिन्छ ।’ धार्चेको स्वास्थ्य चौकीहरुमा बिरामी उपचारका क्रममा केही समस्याहरु देखिएमा टेलिमेडिसिनको माध्यमबाट प्रदेश अस्पतालका विशेषज्ञहरूसँग सिधै परामर्श लिन सकिने खनालले जानकारी दिए ।

‘धार्चेको जुनसुकै स्वास्थ्य चौकीमा उपचारको क्रममा केही समस्या देखिए सिँधै प्रदेश अस्पतालमा सम्पर्क गर्न मिल्ने सिस्टम छ । उताबाट आएको फोन अस्पतालको नर्सिङ्ग स्टेशनले उठाउँछ अनि समस्या अनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिन्छ’, खनालले भने । टेलिमेडिसिन सेवाअन्तरगत हाल स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण र केही सेटअपको कामहरु भैरहेको उनले बताएका छन् । आउँदो साउन १ गतेबाट भने प्रभावकारी रुपमा सेवा सुचारु हुने उनको भनाइ छ ।

टेलिमेडिसिन सेवाले स्वास्थ्य सेवाको पहुँचलाई अझ सुलभ र प्रभावकारी बनाउने प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले बताए । उनका अनुसार जिल्लामा नै पहिलो पटक धार्चे गाउँपालिकामा टेलिमेडिसिनको व्यवस्थित प्रयोग सुरु गरिएको हो । टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रका नागरिकहरुले

गाउँमै बसेर विशेषज्ञ डाक्टरहरुको परामर्शसहित उपचार पाउने उनले जानकारी दिए । ‘यसले डाक्टरलाई देखाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्छ । भिडियो परामर्शको क्रममा विशेषज्ञ डाक्टरहरुले आवश्यक भए मात्र बिरामीलाई बोलाउनुहुन्छ । नत्र गाउँमै बसेर उपचार हुन्छ, त्यसका लागि हाम्रो विशेषज्ञले स्वास्थ्य चौकीको चिकित्सकलाई सहयोग गर्छ’, उनले भने ।

धार्चे गाउँपालिकामा सुरु भएको टेलिमेडिसिन सेवाले हालका लागि गर्भवती, सुत्केरी महिला र नवजात शिशुलाई जोड दिएको प्रदेश अस्पताल गोरखाका मेसु खनालको भनाई छ । आगामी दिनहरुमा भने सेवा बिस्तार गर्दै लैजाने योजना रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्