| मङ्लबार, कार्तिक २४, २०८३

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट जिल्लाको गण्डकी गाउँपालिकामा मात्र सयौँ घरधूरी प्रत्यक्ष लाभान्वित भएका हुन् ।

गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रा पालन गर्दै आएकी छन् । उनी आफू २०६२÷६३ देखि कबुलियति वन समूहमा आवद्ध भएको बताउँछिन् । त्यसअघि गाउँभरिका डाँडामा बनमारा थिए । वनबाट पनि आम्दानी हुन्छ भन्ने उनीहरुलाई थाहा थिएन ।

त्यही समय जिल्ला वन कार्यालयले गण्डकी गाउँपालिका लगायत जिल्लाको विभिन्न स्थानहरुमा एकसय ३१ वटा कबुलियति वन समूह गठन ग¥यो । ‘समूह गठन भएपछि पाल्पाको अम्रिसो खेती हेर्न गयौँ । अग्लो पहाडभरी अम्रिसो देखेपछि हामीले पनि केही गर्न सक्छौँ भन्ने जाँगर आयो’, चेपाङले भनिन् ।

चन्द्रमायाको बिच्छेगैरा ‘क’ कबुलियति वन समूहमा ६ घरधुरी छन् । उनीहरु सबैजना चेपाङ समुदायका हुन् । आफ्नो पर्याप्त जग्गा नभएका उनीहरु हाल कबुलियत वनमार्फत बाख्रा पालनमा आवद्ध छन् । साथै, मौरी पालन पनि गरिरहेको चन्द्रमायाले बताइन् ।

‘आफ्नो जग्गा जमिन थिएन, वन पनि खाली थियो । पहिला २–४ वटा बाख्रा पाल्न पनि मुस्किल हुन्थ्यो । अहिले हरेकको घरमा २०–२५ वटा बाख्रा छ’, उनले भनिन्, ‘समूहमार्फत वनमा विभिन्न उन्नत जातको डाले घाँस, भुई घाँस लगाएका छौँ । बाख्रा बेचेरै मज्जाले घरखर्च चल्छ अहिले त ।’ केही गर्छु भन्ने समूहहरुलाई कबुलियत वनको कार्यक्रमले धेरै सहयोग पु¥याएको चन्द्रमाया बताउँछिन् । आफूहरुले बाख्रा बेचेर मात्र वार्षिक २ लाख भन्दा बढीको आम्दानी गर्ने गरेको उनको भनाई छ ।

चालु आर्थिक वर्ष बिच्छेगैरा ‘क’ समूहमा टिमुर खेतीको कार्यक्रम समेत संचालन भएको छ । कार्यक्रम अन्तरगत बिच्छेगैरा ‘क’को २.१० हेक्टर क्षेत्रफलमा करिब ६०० बोट टिमुर रोपिएको चन्द्रमायाले बताइन् । ‘राम्रो उत्पादन गर्न सके अब टिमुर खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भनिन् । गण्डकी गाउँपालिकाको २ नंबर वडामा मात्र १० वटा कबुलियति वन समूहहरु रहेका छन् ।

गण्डकी गाउँपालिका–८ का नेत्र श्रेष्ठ स्थानिय कबुलियति वन समूहमार्फत अम्रिसो खेतीमा आवद्ध छन् । ‘यसअघि वनमा डाले घाँस मात्र लगाएका थियौँ । यो वर्षबाट भने अम्रिसो खेती पनि सुरु गरेका छौँ’, उनले भने, ‘बाख्रा पालनबाट राम्रो आम्दानी भईरहेको छ । अब अम्रिसो उत्पादन गर्न सके आम्दानीको स्रोत बढ्ने थियो ।’

आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी सव–डिभिजन वन कार्यालयले कबुलियति वन समूहहरुमा अम्रिसो खेती, टिमुर खेती र डाले घाँसको विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको ४, ५ र ६ नंबर वडामा यी कार्यक्रमहरु संचालन गरेको गण्डकी सव डिभिजन वन कार्यालयका रवि यादवले बताए । कार्यालयले विभिन्न कबुलियति वन समूहहरुमा २२–२२ सय बोट टिमुर, डाले घाँस र अम्रिसो लगाएको उनले जानकारी दिए ।

जिल्लामा कबुलियति वनमार्फत कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रमहरु संचालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । सामुदायिक वनलाई टुक्र्याएर जनतालाई कबुलियति वन हस्तान्तरण गरेपछि आयआर्जनको बाटो खुलेको उनले बताएका छन् ।

‘आदिबासी, जनजाति, दलित तथा विपन्न घरपरिवारलाई कबुलियति वन दिइएको छ’, उनले भने, ‘कबुलियति वनको अवधारणले गरिबी निवरणका साथै हैसियत बिग्रीएका वनहरु हराभरा बनाउन सहयोग गरेको छ ।’ उनका अनुसार हाल जिल्लाको ९८३.६३ हेक्टर क्षेत्रफलमा २८३ वटा कबुलियति वन समूहहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्