
धार्चे गाउँपालिकाद्वारा कृषकलाई उत्पादनका आधारमा करिब ५ लाख अनुदान
धार्चे गाउँपालिकाले कृषि जन्य उत्पादनको आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी १५ जना कृषकलाई अनुदान रकम वितरण गरेको हो ।
उनीहरुलाई कुल ४ लाख ६७ हजार ५०० रुपैयाँ अनुदान रकम प्रदान गरिएको पालिकाका कृषि शाखा अधिकृत अनिल नेपालीले बताए । १५ जनामध्य सबै भन्दा धेरै वडा नं. ७ लापुबेशीकी बिमाया गुरुङले ५१ हजार अनुदान प्राप्त गरेकी छिन् । उनी धेरै लामो समयदेखि आफ्नो बारीमा केरा खेती गर्दै आएकी छिन् ।
गाउँपालिकाले उत्पादनका आधार अनुदानको लागी कार्यविधी समेत तोकेको थियो । जसअनुसार कोदो, मकै, आलु प्रति मुरी ३०० सय र मार्सी धान प्रति मुरी एक हजार तोकिएको थियो । यस्तै फलफुल (केरा, सुन्तला, किबी) प्रति केजी रु १० र मह प्रति केजी रु ७५ तोकिएको उनले बताए । सोही आधारमा अनुदान वितरण गरिएको हो ।
अनुदानको लागी धेरै निवेदन परेता पनि उत्पादन हेरेर कृषक छनोट गरिएको कृषि अधिकृत नेपालीले बताए । कृषक छनोटका लागि ६ महिना स्थलगत अनुगमन गरिएको उनको भनाइ छ । ‘हामीकहाँ धेरैको निवेदन परेको थियो, साँच्चै दुःख गरेर कृषि गर्ने कृषक छुट्याउनै गाह्रो पर्ने अवस्था आयो,’ उनले भने, ‘असली कृषक को हो ? उत्पादन कस्तो छ ? उत्पादन कसरी गरिरहेको छ ? भन्ने थाहा पाउन हामीले पालिका भित्रका सबै वडाको स्थलगत अनुगमन गरेर कृषक छनोट ग¥यौं ।’
पालिकाको सबै वडामा कृषि योग्य जमिन रहेको उनले दाबी गरे । फालफुल लगायत सबै बालीको उब्जनी राम्रो हुने उनले बताए । ‘हामीले अनुगमनको क्रममा सबै वडाहरुमा कृषि योग्य जमिन रहेको भेटायौं, दुःख गर्नेहरुको आम्दानी पनि राम्रो हुने रहिछ,’ उनी भन्छन्, ‘अहिले पालिको माथिल्लो भेगमा रहेको केही ठाउँमा स्याउ खेती समेत सुरु गरिएको छ ।’ पालिकाभित्र मार्सी धानसँगै घैया र असारे धानको पनि खेती सुरु गरिएको कृषि अधिकृत नेपालीले बताए ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले सहि कृषकलाई कृषिमा लाग्न उर्जा स्वरुप प्रोत्सहान गर्न आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरताका लागि बजेट विनियोजन गरिने बताएका छन् । यस्तै पालिकाभित्र पशुपञ्छी व्यवसाय गर्ने ६२ जनालाई पनि अनुदान प्रदान गरिएको छ । उनीहरुलाई ६ लाख २१५ रुपौयाँ रकम अनुदान स्वरुप वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।




