
हिमाली भेगमा दलाई लामाको ९० औं जन्मोत्सव धुमधामले मनाइयो
वुद्धमार्गीहरुको धर्मगुरु १४ औं दलाई लामाको जन्मोत्सव हिमाली भेगमा धुमधामले मनाइएको छ । गोरखा, मनाङ लगायतका हिमाली भेगका वुद्धमार्गीहरुको मात्र बसोबास रहेका गाउँहरुमा लामाको ९० औं जन्मोत्सव मनाइएको हो ।
गोरखाको तिब्बती सीमानामा रहेको चुमनुब्री गाउँपालिकाको विभिन्न गाउँबस्तीमा दलाइ लामाको पूजाआजा गरी तस्वीरमा खादा माला लगाएर, धुप बालेर, दीर्घायूको कामना गरेर जन्मोत्सव मनाइएको छ । वुद्धमार्गीहरुका प्रमुख धर्मगुरु दलाई लामाको जन्मोत्सवको अवसरमा आइतबार चुमनुब्री ७ छेकम्पारमा भक्तजनहरुले प्रार्थना गर्दै राजेन गुम्बा परिक्रमा गरेका छन् ।
राजेन गुम्बामा पढ्ने भिक्षुहरु, लामा गुरुहरु तथा गाउँका स्थानीयबासीहरुले झण्डा बोक्दै, जयजयकार गर्दै गाउँ परिक्रमा गरेका थिए । साथै गुम्बामा आयोजित समारोहमा प्रत्येकले पूजाआजा गरी लामाको तस्वीरमा खादा ओढाउँदै सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै चुमनुब्री गाउँपालिका १ साम्दोमा पनि धुमधामले दलाई लामाको जन्मोत्सव मनाइएको छ । स्थानीय तेगा गुम्बामा आइतबार दिउसो गाउँलेहरु भेला भई उनको तस्वीरमा खादामाला लगाई धुप बालेर शुभकामना ब्यक्त गरेका थिए । साथै केक काटेर नाचगान गरेर जन्मोत्सव मनाइएको थियो ।
तिब्बतको सीमानामा अवस्थित मनाङको फू गाउँमा पनि दलाई लामाको जन्मोत्सव धुमधामले मनाइएको छ । स्थानीय टासी लखाङ गुम्बामा पूजापाठ गरी, बत्ती बालेर दलाई लामाको जन्मोत्सव मनाइएको हो । वुद्ध धर्मावलम्बीहरुको मात्र बसोबास रहेका गोरखा, मनाङलगायतका अन्य जिल्लाका गाउँबस्तीहरुमा पनि उनको जन्मोत्सव मनाउने गरिन्छ ।




