
आरुघाटले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्दै
जिल्लाको आरुघाट गाउँपालिकाले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा संचालन गर्न लागेको हो ।
ग्रेडबृद्धि परीक्षाको तयारी कक्षा पालिकास्थित भिमोदय माविमा संचालन हुने अरुघाटका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । २०८१ को एसईई परीक्षामा अनुत्तीर्ण भएका पालिकाभित्रका सबै विद्यार्थीहरुलाई लक्षित गरेर निशुल्क कक्षा संचालन गरिएको उनले जानकारी दिए । ‘निशुल्क कक्षा लिन इच्छुक विद्यार्थीहरुले पालिकाको वेवसाइट र फेसबुकमा राखेको निवेदन ढाँचामा निवेदन पेश गर्नुपर्ने हुन्छ’, उनले भने ।
आरुघाट गाउँपालिकाको यो वर्षको एसईई नतिजा ३६.६९ प्रतिशत रहेको छ । पालिकाअन्तरगतका १४ विद्यालयहरुबाट ३५७ जनाले एसईई दिएकोमा जम्मा १३१ जनाले मात्र एसईई परीक्षा उत्तीर्ण गरेका छन् ।




