| सोमवार, कार्तिक २३, २०८३

एक करोड नाघ्यो ट्राफिक प्रहरी कार्यालय गोरखाको राजश्व

मेलिना बराम ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको राजश्व एक करोड नाघेको छ । ट्राफिक नियम उल्लघंन गर्नै सवारीहरुबाट जरिवाना स्वरुप उक्त राजश्व संकलन गरिएको हो । जिल्लामा राजश्व एक करोड नाँघेको यो पहिलो पटक हो ।

सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएकाले राजस्व वुद्धि भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताए । उनका अनुसार गत बर्षको तुलनामा यो वर्ष सवारी नियम उल्लंघन गर्नेको संख्या पनि बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको असार १५ सम्म जिल्लामा १० हजार ४८५ सवारी साधन कारवाहीमा परेका छन् । उनीहरुबाट एक करोड २ लाख १७ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख पौडेलले बताए । सबैभन्दा धेरै मोटरसाइकल कारवाहीमा परेका छन् ।

चार हजार ६ सय ५३ वटा मोटरसाइकल कारबाहीमा पर्दा ४७ लाख ७ हजार राजस्व संकलन भएको उनले बताए । दुई हजार २ सय ६० वटा कार/जीप कारवाहीमा पर्दा १९ लाख ६२ हजार पाँच सय राजस्व संकलन गरेको छ । त्यस्तै, एक हजार ६६९ ट्रक/टिपरलाई कारवाही गर्दा १८ लाख ६२ हजार पाँच सय राजस्व संकलन भएको उनले जानकारी दिए । एक हजार १४१ बस कारवाहीमा पर्दा १० लाख १० हजार र ७२१ ट्याक्टर कारवाहीमा पर्दा ५ लाख ७७ हजार पाँच सय र अन्य ४१ सवारी कारवाहीमा पर्दा ३४ हजार पाँच सय राजस्व संकलन भएको उनले बताए ।

पछिल्लो समयमा निजी सवारी साधनको संख्या बृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको व्यापक विस्तार हुनु र आम सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी चेतना भएर पनि व्यवहारमा लागु नगरी हेलचक्रयाई गर्नाले धेरै कारवाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरीे प्रमुख पौडेलले जानकारी दिए । ‘चेकजाँचको क्रममा धेरैले लाइसेन्स नलिएको पाइन्छ, फोटो देखाए पनि हुन्छ भनेर हिड्छन्,’ उनले भने, ‘बिलबुक पनि लामो समयदेखि नवीकरण नगरेको भेटिन्छ, जानीजानी अटेर गर्नेपनि छन् ।

’मादक पदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङमा सवारी रोकेका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । ‘जिल्लामा ग्रामीण क्षेत्र बढी भएको कारणले हामीले अवस्था हेरेर बसमा केही संख्यामा यात्रु बढी राख्न पनि दिन्छौं,’ उनी भन्छन्, ‘चाडपर्वको मौका पारेर वा त्यस्तै परिस्थितीलाई कमाउने माध्यम बनाएर जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने बसहरुलाई भने कारवाही गछौं ।’

ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको पहुँच अझै पुग्न नसकेको उनले स्वीकार गरे । ट्राफिक नियम उल्लंघन न्यूनीकरणका लागि जनचेतनामूलक कार्यकमहरु संचालन गर्दै आएको उनले जानकारी दिए । जिल्लाका मुख्य नाका र सडकमा चेकजाँचलाई तिव्र पारिएको बताइएको छ । कार्यालयका अनुसार २०७८/०८० मा ७६ लाख ३० हजार र आव २०८०/०८१ मा ८५ लाख ७१ हजार राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्