
गोरखामा एच ए सकेका विद्यार्थीलाई बिदाई
गोरखा प्राविधिक प्रशिक्षण केन्द्र रानीवन गोरखाबाट जनरल मेडिसिन (एच ए) को अध्यापन सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले अध्यापन सकेका ४० जना लाई बिदाई गरेको केन्द्रकी संयोजक लक्ष्मी श्रेष्ठले बताइन्। बिदाई समारोहमा विद्यार्थीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।
वल्ड क्यापिटल इन्भेस्टमेन्ट प्रालीका अध्यक्ष सुरेन्द्र कुँवरको अध्यक्षता तथा फोरम फर हेल्थ साइन्सका सदस्य एवं गोरखा प्राविधिक प्रशिक्षण केन्द्रका पूर्व अध्यक्ष चन्दनबाबु खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा द वल्ड क्यापिटल माविका प्रधानाध्यापक जनक केसी, स्वास्थ्य र शिक्षा क्षेत्रका क्रियाशिल बद्रीबहादुर मास्के, केन्द्रका प्रशिक्षक एवं स्वास्थ्यकर्मी कृष्णप्रसाद ढकाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, विद्यार्थी शिखा गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिईभिटि) को सम्बन्धनमा सञ्चालित उक्त केन्द्रमा वर्षौ देखि विभिन्न प्राविधिक विषयहरु पढाई हुँदै आएको छ ।




